सिन्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने

काठमाडौँ । सरकारले सबै प्रकारका सिन्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै दुर्गम तथा ग्रामीण क्षेत्र लगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज र निर्बाध आपूर्ति सुनिश्चित गर्न उत्पादन, भण्डारण र वितरण प्रणालीमा सुधार गरिने बताए ।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायात लगायत आधारभूत सेवाको गुणस्तरीयता सुनिश्चित गरिने समेत बताए । उपभोक्ताको हित संरक्षण गर्न सम्बन्धित निकायलाई सशक्त बनाई बजार अनुगमन तथा नियमनलाई सुदृढ गरिने बजेटमा उल्लेख गरिएको छ ।

देशभर उपलब्ध अत्यावश्यक खाद्य पदार्थ उत्पादन, मौज्दात तथा आपूर्तिको अद्यावधिक सूचना प्राप्त हुने प्रणाली विकास गरिने बजेटमा उल्लेख छ । सहुलियत मूल्यमा खाद्य वस्तु बिक्री वितरण गर्ने पसल सञ्चालन गर्न सहकारी संस्थालाई प्रोत्साहित गरिने नीति सरकारले लिएको छ ।

स्वरोजगार बन्न चाहने खेलाडीहरूलाई सहुलियतपूर्ण कर्जा दिइने

सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।

अर्थमन्त्री डा.प्रकाश शरण महतले संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुहुँदै खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने बजेटमा व्यवस्था गरिने जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानका रुपमा विकास गरिने भएको छ ।

सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।

विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौँमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिनेछ ।

हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

नेपाल सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताए ।

अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको समेत बताए ।

प्रकाशित मिति: २०२३-०५-२९ , समय : २०:२२:०८ , २ वर्ष अगाडि