
खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू विरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् ।
खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन कार्यक्रममा उहाँले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि पापी मन भएकाले घेराबन्दी गरिरहेको बताए ।

“घाटामा गएको नेपाल वायुसेवा निगमलाई मैले मन्त्रालय सम्हालेको करिब तीन महिनामै रु चार अर्ब ऋण घटाएको छु । अहिले हामी तीन वटा जहाज किन्ने प्रक्रियामा छौँ । हवाईजहाज किन्न नदिन संसारभरका पापी मनहरूले घेराबन्दी गरिरहेका छन्”, मन्त्री किरातीले भने, “तपाईँहरूको साथ पाएँ भने प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिने गरी जहाज ल्याउँछौँ ।”
मन्त्रालयले खरिद गरेर ल्याइने दुई वटा जहाज पश्चिम नेपालमा र एउटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने मन्त्री किरातीले जानकारी दिए ।
उनले खोटाङको तीनवटै विमानस्थलमा नियमित उडान/अवतरण गर्ने गरी तयारी थालिएको जानकारीदिए । प्राधिकरणमा विमान नभएकै कारण उडान/अवतरण हुन नसकेको जानकारी दिनुहुँदै मन्त्री किरातीले अबको केही समयपछि नै खोटाङका तीनवटै विमानस्थलमा नियमित उडान/अवतरण हुने विश्वस्त पारे ।
पर्यटकीयस्थलको अवलोकन भ्रमणमा निस्कनुभएका मन्त्री किराँतीले सबै नागरिक असल नियतका साथ अगाडि बढ्ने हो भने समृद्धि आफूहरूकै पालामा सम्भव रहेको पनि बताउनुभयो । फायर हाइड्रेन्ट गेट भल्भ उद्घाटनपछि जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्नुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा सहभागी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टङ्क राईले पर्यटन विकासका नाममा पुराना संरचनालाई ध्वस्त पार्ने योजना नबनाउन मन्त्री किराँतीलाई सुझावदिए ।।
अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्य दुर्गा जयन्ती राई, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतले आआफ्नो धारणा राखेका थिए । रासस
प्रकाशित मिति: २०२३-०६-०९ , समय : ०६:३०:३३ , २ वर्ष अगाडि