युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्ने नेपालको लक्ष्य

काठमाडौं।आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक श्रृखंलाको अन्तिम खेलमा घरेलु टोली नेपालले आज पाहुना टोली यूएईको सामना गर्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने घरेलु टोली र यूएईबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । २०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बाबेमा आयोजना हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको छ ।

यहि त्रिकोणात्मक श्रृखंला अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ सय ७७ रनले पराजित गरेको थियो । नेपाल आज पनि सोहि लय दोहोर्‍याउने लक्ष्यमा रहेको छ । नेपालले लिग टू का पछिल्ला ११ खेलमा १० जित हात पारेको छ ।

लिग टू अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ । आजको खेल जितेमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुग्नेछ । यता समान खेलबाट ३३ अंक जोडेको युएई छैटौं स्थानमा छ ।

लिग टू मा स्कटल्याण्ड शिर्ष स्थानमा रहदै र ओमान दोस्रो स्थानमा रहदै विश्वकप छनोटमा पुगिसकेका छन् । अब शिर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल पाँचौ स्थानमा रहेको छ ।

आजको खेल जितेर नेपाल शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटमा स्थान सुरक्षित गर्न चाहन्छ । यदी आजको खेलमा परजित भए नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ ।

प्रकाशित मिति: २०२३-०३-१६ , समय : ०८:००:३३ , २ वर्ष अगाडि