
लौकही । सुनसरीको कोशी गाउँपालिका १ को ब्लक जग्गामा बसोकास गर्दै आएका सुकुम्बासीहरुलाई पालिकाले निःशुल्क जग्गाको लालपुर्जा वितरण गरेको बताएपछि त्यसमा लाखौ रुपैयाको रकमको लेनदेन भएको खुलेको छ ।
सुकुम्बासीहरुलाई जग्गाको लालपुर्जा दिलाईदिन भन्दै विचौलियाहरुले काम मिलाउने नाममा सुकुम्बासीहरुसँग १० हजारदेखि २५ हजार रुपैयाको दरले असुलेको पाईएको छ ।
कोशी गाउँपालिका १ बस्ने सामाजिक अभियान्ता एवम् राजनीतिकर्मी रामचन्द्र यादबले आफनो फेसबुकमार्फत लौकहीको ब्लक जग्गामा बस्दै आएका सुकुम्बासी जनताहरुलाई गुमराहमा पारी प्रत्येक सुकुम्बासीसँग लाखौं बराबरको रकम असुली गरेकोले यसको छानविन र कारवाहीको मागसहित सुनसरी प्रशासन, जिल्ला नापी कार्यालय र सम्बन्धित निकायसँग आग्रह गरेपछि यो घटना बाहिर आएको हो ।
उनले ब्लक जग्गाको लालपूजा वितरणमा सम्बन्धित जग्गावालासँग नगद २५ हजार ५० हजारदेखि १ लाखसम्म असुली गरेको दावी गरेका थिए ।
ति सुकुम्बासीहरुलाई कोशी गाउँपालिकाको सहकार्य र जिल्ला नापी कार्यालय सुनसरीको आयोजना ब्लक जग्गाको नापी गरेर लालपुर्जा वितरण गरिएको थियो ।
उनीहरुसँग लौकहीकै केही व्यक्तिहरुले जग्गा दिलाई दिने भन्दै रकम उठाएको पीडितहरुले आरोप लगाएका छन ।
पीडित अनवा मण्डल पचास वर्षदेखि आफू बसोबास गर्दै आएको सो जग्गाको लालपुर्जा दिलाईदिने भन्दै स्थानीय अन्जन र निरन्जनले दश हजार रुपैया लगेको बताईन ।
अर्का पीडित पाण्डव मण्डलले स्थानीय अंगदलाई दशहजार रुपैया दिएको जानकारी दिए ।
अन्य स्थानीयहरु विपिन मण्डल, जयनारायण साह, नन्द मण्डल, सेपकीदेवी मरिकले पनि जग्गाको लालपुर्जा बनाइदिन्छु भन्दै आफूहरुसँग पैसा लिएको जानकारी दिए ।
कोशी गाउँपालिका १ लौकही बस्ने निरन्जन मंडल, बौवा मण्डल, अंगद लगायतको समूहले सुकुम्बासीहरुलाई जग्गा दिलाई दिन्छौ भन्दै रकम लिएको पीडितहरुले जनाएका छन ।
कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले ब्लक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई लालपुर्जा निःशुल्क प्रदान गरिएको जानकारी दिदै यदि कुनै व्यक्तिले लालपुर्जाको नाम रकम उठाएको छ भने ती व्यक्तिलाई कार्वाही गरिने स्पष्ट पारे ।
पीडित सुकुम्बासीहरुले आफूहरुलाई जग्गाधनी बनाइदिनेभन्दै निर्वाचन अगाडिदेखि नै निःशुल्क पाइने जग्गाको नाममा पैसा उठाएको भन्दै सो घटनाको छानविन गरेर ठगी गर्नेमाथि कारवाहीको माग गरेका छन ।

प्रकाशित मिति: २०२३-०६-२७ , समय : १६:२७:२० , २ वर्ष अगाडि