बेलबारीकी कविता जापनामा मृत भेटिइन्

बेलबारी । अध्ययन लागि जापान पुगी केहि महिना अघिबाट जागिरे जीवन समेत सुरुवात गरेकी एक नेपाली युवती टोकियोमा आफ्नै कोठामा मृत फेला परेकी छिन् ।

४ वर्षअघि भाषा विद्यार्थीको रुपमा जापान गएकी कविता राजवंशी आफ्नै कोठामा मृत भेटिएकी हुन् । मोरङ बेलबारी ९ डांगीहाट स्थायी घर भएकी कविता हानेदा इन्टरनेशनल एयरपोर्टको टर्मिनलमा कार्यरत थिइन् ।

जुन २८ तारिखबाट सम्पर्कविहीन बनेकी कवितालाई ४ दिनपछि शनिबार टोकियो ओमोरीमा रहेको उनको कोठामा झुण्डिएको अवस्थामा मृत फेला पारिएको हो । जुन २७ तारिख कामबाट फर्किएपछि २८ तारिख सँगै काम गर्ने बलामी थरकी साथीसँग सामान्य कुराकानी भएपछि कविता सम्पर्कविहीन बनेकी थिइन् ।

तीन दिनसम्म बेखबर बनेपछि कम्पनी र उनका साथीहरुले खोजी गर्दै प्रहरीमा खबर गरेपछि कोठाको झ्याल फुटाएर भित्र पस्दा झुण्डिएको अवस्थामा मृत फेला पारिएको बुझिएको छ । मृतकको निकट एक साथीका अनुसार बेलाबखत कविताले काममा ’स्ट्रेस’ भएको बताउने गरेकी थिइन् ।

’तर यतिसम्म दुखद घटना होला भनेर आफूहरुले कहिल्यै नसोचेको’ ती साथीले बताइन् । घटनाको प्रकृति हेर्दा कविताले आफ्नो मृत्यु आफैले रोजेको जस्तो देखिएको प्रहरीले बताएको छ । यद्यपि पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण थाहा हुने प्रहरीले बताएको छ । दुःखद् घटनाको बारेमा नेपालस्थित परिवारजनलाई खबर गरिसकिएको बुझिएको छ ।

प्रकाशित मिति: २०२३-०७-०३ , समय : १६:३१:०२ , २ वर्ष अगाडि