झापा धुलाबारीको विद्यालयको सेप्टिक ट्याङ्कीमा डुबेर घाइते बालकको उपचारको क्रममा मृत्यु, सञ्चालक पक्राउ

भद्रपुर । झापामा मन्टेश्वरी विद्यालयको सेप्टिक ट्याङ्कीमा डुबेर सख्त घाइते भएका मेचीनगर–१० धुलाबारीका ८ वर्षीय तान्छोक लिम्बूको मंगलबार मृत्यु भएको छ । मंगलबार बिहान साढे १० बजेतिर उपचारको क्रममा बिर्तामोडको बीएन्डसी हस्पिटलमा उनको मृत्यु भएको हो ।

सोमबारु दिउँसो साढे १२ बजेपछि उनी धुलाबारीको सानो साथी किन्डर गार्टेन नामक मन्टेश्वरी स्कुलमा पढ्न गएको बेला शौचालयको सेप्टिक ट्याङ्कीमा डुबेर गम्भीर घाइते भएका थिए ।

ट्याङ्कीबाट उद्धार गरेर उनलाई उपचारका लागि हस्पिटल लगिएको थियो । स्कुलको शौचालयको ढोकैमा रहेको सेप्टिक ट्याङ्कीको प्वाल मक्किएको प्लाइउडले छोपछाप पारिएको थियो । शौचालय जाने क्रममा बालक त्यही मक्किएको प्लाइउडबाट गहिरो ट्याङ्कीमा डुबेका थिए ।

तान्छोकको मृत्यु भएसँगै इलाका प्रहरी कार्यालय धुलाबारीले मन्टेश्वरीका सञ्चालक मनोज गुरुङलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति: २०२३-०७-१२ , समय : ०७:५६:३१ , २ वर्ष अगाडि