पाटन कृष्ण मन्दिरको चर्चा गरेर नथाक्नेहरू ‘काशी विश्वनाथ’ चिन्दैनन् !

अभिषेक राज सिंह थापा / राजु झल्लु प्रसाद
वास्तुकला र कलाकृतिलले सम्पन्न ललितपुरको दरबार क्षेत्रमा अवस्थित विश्वनाथ मन्दिरको चर्चा बिरलै सुनिन्छ । मल्लकालीन सभ्यतालाई स्पष्टतासाथ् उजिल्याइरहेको विश्वनाथ मन्दिर ०७२ को भुइँचालोपश्चात् लडेको थियो । लामो समय पुनर्निर्माण हुन नसकेको यो मन्दिरलाई काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी)ले फेरि उभ्याउँदैछ ।

सिद्धिनरसिंह मल्लका पालामा विक्रम सम्वत् १६८३ (नेपाल सम्वत् ७४७) मा बनेको यस मन्दिरको निर्माणका सन्दर्भमा तान्त्रिक गुरु विश्वनाथ राज्पोधायायको सम्मानमा सिद्धिनरसिंहले बनाएको किम्वदन्ती पाइन्छ । यद्यपि, इतिहासविद्हरूले मुगल शासक ओरंगजेवले वाराणसीस्थित काशी विश्वनाथ मन्दिर भत्काएको ८ वर्षपछि सो मन्दिरको शिव लिङ्ग ओरंगजेवबाट जोगाई सुरक्षित नेपाल ल्याएको बताइन्छ । यदि यसो हो भने वैदिक कालदेखि काशी विश्वानाथ शिवलिंग रहेको यस मन्दिरको चर्चा पशुपतिनाथबराबर हुनु आवश्यक छ । पाटनको कृष्ण मन्दिरको बारेमा जति खोजीखबरी भएको छ, काशी विश्वनाथको बारमा भएको पाइदैन ।

यस मन्दिरका सन्दर्भमा, ओरंगजेवले काशीको विश्वनाथ भत्काएपछी नेपालबाट काशी दर्शन गर्न जान बन्द भएको र पाटनको यस मन्दिर बनेपछि यहि पूजाआजा गर्न थालिएको पाइन्छ । कतै ‘काशीको विश्वनाथको प्रतिमूर्ति यहाँ स्थापना गरेको’ समेत बताएको भेटिन्छ (दिगुतलेज्यू पाटन, कुलचन्द्र कोइरला, पृ.६) ।
दुईतल्ले यो मन्दिरलाई २० वटा खम्बाले सहारा दिएका छन् । यसका खम्बामा काष्ठकला कुँदिएका छन् । विस्तृत रूपले कुँदिएको कलामा शिवको आकृति पनि छ । मन्दिर र खम्बा बीचमा खाली ठाउँ छ, जसलाई प्रदर्शनी पथ भनिन्छ । प्रदर्शनी पथमा पूजाआजा गर्न आउनेहरू फन्को लगाउँछन् ।

 

स्थानीयले ‘भाइदेगस्’ नाम दिएको यस मन्दिरलाई तत्कालीन राजा श्रीनिवास मल्ल ९वि सं १६८४ ( वि सं १७४३० का चौतरिया भारो भगिरथ भैयाले स्थापना गरेका विश्वास यद्यपि प्रचलित नै छ, तर भाइदेगस् मन्दिर अलगै रहेको हुनुपर्दछ । साथै, मन्दिर बनेको समयमा श्रीनिवास गर्भमै रहेको देखिनाले पनि श्रीनिवासको समयमा विश्वनाथको मन्दिर बन्न असम्भव देखिन्छ । श्रीनिवासको उमेर अलिकता भइदिएको भए ‘छोराले राजकाजको अनुभव पाउँदै जाओस भन्ने अभिप्राय’ले सिद्धिनरसिंहले छोरासँग संयुक्त शासन गरे होलान् भनेर अड्कल काट्न सकिन्थ्यो, तर जन्मदै नजन्मेको व्यक्तिबाट मन्दिर बन्नु पत्यारिलो लाग्दैन । पछि आफ्ना चौतारिया भारो भगिरथ भैयाको सल्लाहबमोजिम मन्दिर पुनर्निमाण गरेको भने हुनसक्दछ किनभने प्राचिन अभिलेखहरूले पाटन भूकम्पको जोखिममा रहेको बताएका छन् ।

यस कुरालाई पनि ध्यान दिऔँ,
धनवज्र बज्राचार्यद्वारा संकिलित मध्यकालका अभिलेखको ‘मंगलबजार विश्वेशर(मन्दिरको सिद्धिनरसिंहको अभिलेख’मा भगीरथ भैया एवम् श्रीनिवासको कतै उल्लेख देखिँदैन । यस अभिलेख ‘अभिलेख संग्रह(६ भागको ) पृष्ठमा संशोशन मण्डलद्वारा समेत छापिएको छ ।

अभिलेखको अनुवाद गर्दै बज्राचार्य लेख्छन्, “उहाँ राजा सिद्धिनरसिंहमल्लले कैलाश जस्तो मन्दिर बनाउन लाएर होम गरीकन त्यहाँ विश्वेश्वर स्थापना गर्नुभयो । त्यसको पश्चिमपट्टि ज्ञानवापी जस्तो, राम्रो पानी आउने सुनधारा बनाउन लाउनुभयो । सारा जोगीहरूलाई भोजन गराउन भयो । काशीमा‘बनसेहरूको विरहबाट भएको‘नेपालका राजा खुसीसाथ घर ।।पन्चमी, वृहस्पतिबारमा । यसपछि देशभाषामा लेखिएको कुरा, ने.सं. ७४७ (वि.सं. १६८३) माघ शुक्ल पन्चमीको दिन महाराजधिराज जयसिद्धिनरसिंहमल्ल प्रभु ठाकुरले श्री।।यो देवल बनाउन लाउन भयो ।।।”
अनुवादको व्याख्या गर्दै बज्राचार्य अगाडि लेख्छन्, “।।सिद्धिनरसिंहको प्रमुख कृतिमध्ये यो विश्वेश्वर मन्दिर अहिलेलाई पहिलो देखिएको छ । आफू पाटनको गद्धीमा बसेको आठ वर्ष जति पछि ने.सं. ७४७ (वि.सं.१६८३) श्रीपन्चमीको दिन सिद्धिनरसिंहले विश्वेश्वर मन्दिर बनाई यो अभीलेख कुँद्न लाएका हुन् ।” बज्राचार्यले यस अभिलेख राखेको चार वर्षपछी पनि सिद्धिनरसिंहले नेपाल उपत्यकाभरका सन्यासीहरूलाई भोजन गराएको उल्लेख गरेका छन् ।


बज्राचार्यको यस व्याख्याले विश्वेश्वर मन्दिर सिद्धिनरसिंहकै पालामा बनेको कृष्ण मन्दिर पनि उत्कृष्ट (पहिलो) रहेको बताइरहेको छ, तर यसको मुलुकमा चर्चा एवम् खोजी नहुनु दुस्खद छ ।

कलाकृतिः पाटन दरबार क्षेत्रमा सबै मठमन्दिर पैगोडा शैलीका छन् तर, यस मन्दिरको उत्तर कुनामा मुगल शैलीमा बनेको गुम्बजले बेग्लै पहिचान दिन्छ । यो मन्दिरमा टुडालहरू र चार ढोकाहरूमा विभिन्न प्रस्तर तथा काष्ठकलाका देवीदेवता, शिवलिंगका मूर्तिहरू कुँदिएका छन् भने भित्र ठुलो आकारको शिवलिंग विराजमान छ । पूर्वाभिमुख गरी दुई तल्ले छत्रशैलीमा निर्माण गरिएको यो मन्दिरमा चारदिशामा चार (४) ढोका राखिएको छ। पश्चिमद्वार सम्मुख बसाहाको मूर्ति छ । सिंढीमा एक जोर सिंह, भीमसेन र कुबेरलाई द्वारपालको रूपमा राखिएको छ । मन्दिरको चारैतिरको द्वारमा दायाँ(बायाँ माथिल्लो भागमा अष्टमातृका र तल्लो भागमा अष्ट भैरवले सजाइएको छ ।

सांस्कृतिक महत्वः प्रत्येक वर्षको शिवरात्रीका दिन विशेष किसिमले शिवरात्री पर्व मनाउनु पर्ने उक्त मन्दिरमा केही दशक अघिसम्म सन्यासीहरुले पूजा गर्ने गरेका थिए । भक्तजनहरुलाई ईश्वरप्रति आस्था जगाईराख्न टुडालमा शिवलोक, शुक्रलोक, अँगाल लोकको दर्शन गराइएको थियो ।

मन्दिरको नामः विश्वनाथ मन्दिर
पुरानो नामः विश्वेश्वर महादेव
जिल्लाः ललितपूर

टोलः मंगलवजार स्थानः लायकु (दरबार क्षेत्र)

स्थापना मितिः ने.स. ७४७ माघ शुक्ल श्रीपञ्चमी
निर्माण कालः मल्लकाल (राजा सिद्धिनरसिंह मल्ल)

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १०:१३:११ , २ वर्ष अगाडि