पोखरेलीले बिर्सन नसकिने कान्छी डाक्टर

सुनिल उलाक
हुन त कान्छी डाक्टर नेपाली होइनन् र पोखरामा जन्मेका पनि होइनन् । तर उनको योगदान पोखरेलीहरुका लागि उच्च थियो । उनले आफ्नो जीवन पोखरेलीका लागि नै सुम्पिए । यसर्थ पोखरेली महिलाहरुका सूचीमा कान्छी डाक्टरलाई पनि समावेश गरेँ ।
कान्छी डाक्टर वा भनौ कान्छी मिमलाई अघिल्लो पिँढीले बिर्सनै सक्दैन । पोखराकै स्थायी वासिन्दा जो आज पचास वर्ष उमेर कटिसकेका छन् ति मध्य धेरैको उपचार वा जन्म वहाँकै हातबाट भएको थियो । उनको एक पत्रका अनुसार उनले २००९ साल मंसिर ३ गते पोखरामा पहिलो पटक पाइला टेकेका थिए । जन्मले बेलायती भए पनि उनलाई कुनै किसिमको प्रेरणाले पोखरा आउने संयोग जुटायो । पोखरा र पोखरेलीले यति मोहित बनायो कि उनले आफ्नो जीवन नै पोखराका लागि सुम्पिए । पोखरामा जन्म भएर आफ्नो मातृभूमि तथा आफ्नो जन्म शहरलाई सदाका लागि छोडेर बिदेशिने हामी धेरै भेट्दछौ । जीवनको योगदान आफ्नो देशका लागि नगरेको उदाहरण हामी धेरै भेट्दछौ । परदेशमा पनि कुनै ठूलो योगदान गरेर आफ्नो देशको नाम चम्काएका उदाहरण खासै भेटिदैन । तर कान्छी डाक्टरले पोखरा बसेर लाखौको जीवन बचाए । लाखौको प्रिय डाक्टर बन्न सफल भए ।
१६ सेप्टेम्बर १९२६ मा ९बि।सं। १९८३ भदौ ३१ गते० बेलायतको औद्योगिक शहर कोवेंट्रीमा एक पढेलेखेको परिवारमा जन्मेका रुथ वाटसनको बुबा कार कम्पनीमा इञ्जिनियर थिए । उनले पहिलो विश्व युद्धको समय गोप्य रुपमा जहाजका लागि आबश्यक जेट इञ्जिनको डिजाइनमा सहयोगीको भूमिका पनि निभाएका थिए । रुथको आमा भने विवाह अगाडिसम्म सेक्रेटरीका रुपमा काम गर्दथे । रुथको बुबाआमाबाट चार सन्तानको जन्म भएको थियो । जेठो छोराले बाबुको बिँडो ठाम्दै इञ्जिनियर बने । कान्छो छोराले दोश्रो विश्व युद्धको समय नेभीमा काम गरे । पछि किसान बने । तेश्रो सन्तानका रुपमा रुथको जन्म भएको थियो । चौथो सन्तानका रुपमा कान्छी छोरी थिइन ।
रुथको बाल्यकालमा नै विश्वभर आर्थिक मन्दी फैलिएको थियो । हरेक ब्यक्ति आर्थिक समस्याले ग्रसित भएका थिए । तर रुथको बाबुको राम्रो कमाइ भएको हुँदा उनको परिवारमा भने आर्थिक मन्दीको खासै अन्तर परेको थिएन । उनि जब बिस्तारै हुर्कदै थिइन अचानक विश्व युद्ध शुरु भयो । युद्धको त्रासदीबाट लुकेर बाँच्नु परिवारको दायित्व हुन पुग्यो ।
युद्ध समाप्ति पछि रुथले बर्मिंघममा गएर मेडिकल ट्रेनिङ लिइन । मेडिकलको बिद्यार्थी रहदै उनि क्रिस्चियन सोसाइटीको सदस्य पनि बनिसकेकी थिइन । अन्तत डाक्टर पास भए पछि उनले विवाह नगरि एक्लो जीवन बिताउने र समाजको सेवा गर्ने अठोट गरिन ।
डाक्टरी प्राक्टिसको बिच उनले सर्जन तर्फ लागिन । उनको लगनले उनले देशको राम्रो सर्जन बन्न सफल मात्र भइनन देशले उनलाई पुरस्कृत पनि गर्यो । तर अचानक एक परिक्षामा एक नम्बर कम आउँदा उनी असफल भइन । उनलाई निकै झट्का लाग्यो । उनले मिशनरीको काममा बिदेश जाने अठोट गरिने । उनको इच्छामा आमाबुबाको समर्थन रहेन । तर पनि उनी दृढ भएर फैसला लिइन, बिदेश गएर मिशनरीमा सेवा गर्ने । मिशनरीबाट चीनका लागि तैयारी हुँदै थियो । तर उनले नेपालको बारेमा आफ्ना बाबुबाट सुनेका थिए । पहाडै पहाडको देश नेपालमा जाने इच्छा थियो उनको । चीनको लागि तैयार हुँदा उनले अचानक भने नेपालको बिषयमा के हुन्छ रु उनले मन मनै निर्णय गरिसकेकी थिइन, मेरो गन्तव्य नै नेपाल हो ।
सन १९४९ को गर्मी महिनामा मिशनरीको बिदेश जानेहरुको सूचीमा उनको नाम पनि पर्न सफल भयो । उनले आफ्नो गन्तव्य नेपालका लागि तैयारी थालिन । बर्मिंघम एक्सिडेन्ट अस्पतालमा रहँदा नै उनले आफ्नो सर्जनको क्षमतालाई तिखार्न पाएका थिए । यसको साथै फुर्सद पाए कि नेपालको विषयमा अध्ययन गर्दथे । उनले अध्ययनकै क्रममा थाहा पाए कि नेपालमा कुनै पनि मिशनरी सक्रिय छैनन् । नेपालमा मिशनरीका रुपमा जाने सम्भावना नदेखे पनि उनले भगवान माथि विश्वास भने राखिरहे । एकदिन म नेपालमा गएर सेवा गर्नेछु ।
मिशनरी कलेजमा रहँदै एकदिन उनको भेट डा। पैट ओुहेनलानसंडग भयो । उनले नेपालमा राजनैतिक परिवर्तन हुँदै गरेको र छिट्टै मिशनरीको लागि खुला हुने जानकारी दिइन । डा। पैट अर्का डा। हिल्डाको साथ नेपालको नजिकै सिमा क्षेत्रमा पुगेका थिए । बि।सं १९९१ तिर नै दार्जिलिङ जाने समय नेपाललाई नजिकैबाट नियाल्न पाएका थिए । अन्तत रुथ नेपाल जानेहरुको सूचीमा चुनिइन् । उनको आमाबुबा खुशी थिएनन् । तर पनि छोरीको इच्छा अगाडि बाबुआमाले केही गर्न सकेनन् ।
सन १९५२ मा त्यो दिन आयो । रुथ आफ्नो सपनामा देखेको गन्तव्यका लागि हिड्ने तैयारी शुरु भयो । एसएस चुसान नाम गरेको पानीजहाजमा बम्बईसम्मको टिकट काटिएको थियो । महिनौ अगाडि देखि गरिएको सपिङले ठूला ठूला ब्याग भरिएका थिए । नेपाल त्यसमा पनि पोखरा त्यसबेला खासै बिकासको चरणमा नै थिएन । यहाँ बिदेशीहरुका लागि उनिहरुलाई आबश्यक सामग्रीहरु पाउने सम्भावना थिएन । यसर्थ पनि सपिङको सूची निकै लामो थियो । लण्डन छोड्नु अघिल्लो दिन बुबाआमालाई भेट्न पुगेका थिए । तर खुशीले बिदाइ गरेनन् । मन ठामेर बिदाइ गरे । लण्डनबाट स्वेज क्यानल हुदै मुम्बइ पुगे । मुम्बइबाट नौटनवासम्म बिभिन्न शहरमा परिवर्तन गर्दै रेलमा सफर भयो ।
नौटनवा पुगेपछि नेपाल सरकारको पत्रको प्रतिक्षा रह्यो । अन्तत नेपाल सरकारबाट पोखरामा अस्पताल बनाउन स्विकृति आउना साथ पोखराको यात्राको तैयारी शुरु भयो । सबैभन्दा पहिले पक्लिहवामा रहेको बेलायती सेनाको भर्ति केन्द्रमा सम्पर्क गरेर ३ टनको सानो ट्रक ९लरी० र सहयोगीहरुका लागि माग भयो । २००९ सालको कार्तिक २६ गते दिउसो १ बजे लरीमा बसेर नौटनवाबाट बुटवलका लागि प्रस्थान गरे । त्यहि दिन बुटवल पुगेर कुल्ली खोज्ने काम भयो । भोलिपल्ट बिहान १९ जना कुल्ली र ११ जना मिशनरीका सदस्यहरु सहित पोखराका लागि यात्रा शुरु भयो । बाटोमा ठाउँ ठाउँमा क्याम्प लगाएर गाउँलेहरुलाई आबश्यक उपचारहरु पनि गरे ।
एक हप्ताको लामो यात्रा पछि मंसिर ४ गते पोखरा पुगे । एउटा सपनाको शहर सपनामा देखेको गन्तव्य रुथको पुरा भएको थियो । यो सपना पुरा हुन लामो समय लागेको थियो । २६ वर्षको उमेरमा केही मौजमस्ति र रमाइलो गर्ने समयमा जीवनको संघर्ष गर्न मानिसहरुको सेवा गर्न पोखरा आइपुगेका थिए ।
उत्तर तर्फ लहरै देखिने हिमालयको श्रृंखला देखेर मन्त्रमुग्ध भएर हेरिरहन्थे । पहिलो दुइ हप्ता सम्म सरकारी आवासमा बसिरहे । सरकारका तर्फबाट मिशनरीका लागि कुन ठाउँ दिने भन्ने तय भएको थिएन । अन्तत मिरुवा छेउमा रहेको ठूलो चौरको उत्तर तर्फ सरकारबाट अस्पतालका लागि जमिन दिइयो । जमिन प्राप्त भए पछि अस्पताल बनाउने तैयारी भयो ।
केही मजदूरहरुको साथमा मिशनरीका सदस्यहरु समेत मिलेर जमिन चार छेउमा ३० फुट लामो तीनवटा लामो टहरा बनाए । त्यस मध्य एउटामा ‍औषधीहरु तथा अर्कोमा भान्साकोठा, सुत्ने कोठा, बैठक कोठा बनाइएको थियो । चौथो केही सानो टहरा बनाए जसलाई पाहुना घर तथा फिलिपको लागि कोठा तैयार भयो । भित्ताहरु बाँसको मान्द्रो राखेर बनाइएका थिए भने भुइमा पनि मान्द्रो नै ओछ्याइएको थियो । छाना भने खरले छाएको थियो । यसरी अस्पताल तैयार भयो । एउटा सानो कोठा बनाएर त्यसमा अपरेशन थियटर बनाइयो । अस्पतालमा उपचार शुरु भएको पहिलो महिना नै गाउँगाउँबाट आएका तथा बजारका गरि १००० विरामीहरुको उपचार भयो ।
अस्पतालमा आउने विरामीहरु अंग्रेजी बुझ्ने र बोल्न सक्ने हुदैनथे । त्यसैले डा। पैट जो अलि उमेर बढि थियो उनलाई ठूली डाक्टर भनेर सम्बोधन गर्दथे । भने डा। रुथ सानी भएको हुँदा उनलाई कान्छी डाक्टर भनेर सम्बोधन गर्न थाले । रुथलाई पनि यो नाम मन पर्यो । उनको नाम केवल अंग्रेजी नबुझ्ने नेपालीहरु माझ मात्रै होइन बेलायत सम्म पनि कान्छी डाक्टरकै रुपमा परिचय बन्न थाल्यो ।
नेपालीहरुको माझ त्यो अस्पतालको नाम नै मिम अस्पताल रहन पुग्यो । गोरो छाला हुने बिदेशीहरुका लागि मिम भन्ने गरिन्थ्यो । यो अस्पतालमा दुइ मिम जेठी मिम र कान्छी मिम भएका कारणले यो अस्पतालको नाम नै मिम अस्पताल भनेर चिनाउन थाल्यो । तर मान्द्रोले बारेर बनाएकव टहराको अस्पताल २०१० सालको चैतमा आएको ठूलो हावाहुरीले लडायो । अस्पताल रहेको जमिन पानीले भरिएर ताल जस्तै बन्यो । त्यसको केही समय पछि केही बलियो घर हुनु पर्ने भन्ने लागे पछि कलकत्ताबाट आल्मोनियमको पाताहरु मगाइयो, साथै छाना छाउन जस्ता पाता पनि मगाए । ३० फिट लम्बाइ र २० फिट चौडाइको घर तैयार भयो । यो घरको छानो टल्कने जस्ता पाताको थियो । टाढाबाट नै दिउसो घामले यसको छाना टल्केको देखिन्थ्यो । यसरी सबैले अस्पतालको छानो टल्कने र गाउँ गाउँबाट पनि देखिने भन्न थाले पछि अस्पतालको नाम नै साइनिङ हस्पिटल ९टल्कने अस्पताल० राख्ने निधो भयो । यहि नामले यो अस्पताल प्रख्यात पनि भयो ।
राजा त्रिभुवनको देहान्त पछि बनेका नयाँ राजा महेन्द्रले पोखरा भ्रमण गर्ने भयो । पोखरा भ्रमणमा साइनिङ हस्पिटलको पनि निरिक्षण गर्ने भन्ने समाचार अस्पताललाई दिइयो । राजाको अस्पतालको निरिक्षण क्रममा त्यहि अस्पतालमा नै सबै बिदेशी डाक्टर तथा कर्मचारीका साथ खाजा पनि खाए । यसले बिदेशी डाक्टरहरुको खुशीको सिमा नै रहेन । उनिहरुलाई नेपालीहरुले बिदेशीसंग बसेर खाँदैनन् भन्ने लागेको थियो । तर राजाले नै त्यो भेदभाव नराखे पछि प्रचार गरिएको कुरा गलत जस्तो माने ।
यो अस्पताल सबैको लागि उपचारको प्रमुख स्थल नै भयो । र त्यहाँ रहेका कान्छी डाक्टर सबैका प्रिय बने । अस्पतालकको सुत्केरी कक्षमा पोखराका कैयौको जन्म भयो । कतिपयको जन्म कान्छी डाक्टर कै हातबाट भयो । कान्छी डाक्टरको सानो मोपेडको आवाजले नै कान्छी डाक्टर बजार तर्फ आइपुगेको थाहा हुन्थ्यो । होण्डा कम्पनीको ९० मोडेलको सानो मोपेडमा वहाँ गुड्नुहुन्थ्यो । यसको आवाज नै केही भिन्न हुन्थ्यो । त्यसैले त्यो आवाजले नै कान्छी मिम आउनुभयो भनेर ठम्याउँथे ।
सबैको मुखमा कान्छी डाक्टरको रूपमा लोकप्रिय हुदै गएका उनि एकदिन आफै बिमार भए । दमले पिडित भएका उनलाई पछि हेपटाइटिस भयो । केही निको हुना साथ बिरामीको सेवामा लागी हाल्ने उनि एकदिन उनको एक आँखाले देख्न छोड्यो । साथीहरूले जाच्दा थाहा भयो उनको मस्तिष्कमा ट्यूमर बढेको रहेछ । उनलाई तुरन्त पोखराबाट काठमाडौ र त्यहाँबाट लण्डन लगियो । तर त्यहा पुग्दा थाहा भयो ट्यूमर निकै ठूलो भइसकेको रहेछ । जसले गर्दा १५ नवम्वर १९७६ ९२०३३ कार्तिक ३०० मा केवल ५० वर्षको उमेरमा वहाँको देहान्त भयो । पोखरेलीलाई सदा माया गर्ने तथा पोखरालाई आफ्नो जन्मथलो भन्दा बढी माया गर्ने कान्छी डाक्टर आफ्नो जन्म देशबाट फेरी कहिल्यै फर्केर पोखरा आउनु भएन । तर वहाँको सम्झना धेरै पोखरेलीले सधै गरिरहनेछ ।

प्रकाशित मिति: २०२३-०८-२६ , समय : १३:३३:५६ , २ वर्ष अगाडि