
उदयपुर । माघ २६ देखि फागुन ६ गतेसम्म गाईघाटमा ‘उदयपुर महोत्सव-२०८० हुने भएको छ । केही वर्षअघि कोरोना महामारीका कारण खस्कीएको व्यापार व्यवसायलाई पुरानै लयमा फर्काउन जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले १० दिने महोत्सव संचालन गर्न लागेको हो ।
‘कृषि, बन, पर्यटन, कला संस्कृति, उद्योग र व्यपार : उदयपुरको पहिचान र समृद्धिको आधार’ मूल नारा दिइएको महोत्सवले जिल्लाको चिनारीसँगै स्थानीय व्यापार व्यवसायलाई पुनरजीवन दिने संघका महासचिव सुनिल साहले बताए । महोत्सवबारे जानकारी दिन सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले १२ पृष्ठ लामो कार्ययोजना समेत प्रस्तुत गरेको थियो ।

निरन्तर ओरालो देखिएको अर्थतन्त्रलाई मेला, महोत्सवको माध्यमबाट स्थानीय व्वपार व्यवसाय प्रबद्र्धन गराउन प्रतिस्पर्धात्मक व्यवसायिक वातावरण सिर्जना हुने महासंघका अध्यक्ष चुडामणी कार्कीको भनाई छ । महामारीले आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रलाई समेत नराम्ररी असर पारेकाले लचिलो पर्यटनका लागि पुनरुन्थानका लागि महोत्सव कोसेढुंगा सावित हुने उल्लेख छ ।
जिल्लाभित्र पर्यटन, कृषि, उद्योग व्यपार क्षेत्रमा लगानीको अवसर सिर्जना गर्नेलगायत १७ बुँदे उद्देश्यसहित आयोजना गर्न लागिएको महोत्सवमा कुल २०० स्टलको व्यवस्था हुनेछ । करिब दुई लाख सर्वसाधरणले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादनको प्रचार र आकर्षक छुँटमा बिक्री, बिभिन्न जातजातिको सांस्कृतिक झाँकी, रमाईलो मेला, डुंगा, र्याफ्टीङ, प्याराग्लाईडिङ, कृषि उत्पादन प्रतियोगिता आयोजना हुने बताइएको छ ।
त्यस्तै कला प्रदर्शनी, जिल्लास्तरीय युगल गीत प्रतियोगिता, दोहोरी गायन प्रतियोगिता, पशुधन प्रदर्शनी, सूचना प्रबिधि प्रदर्शनी, भलिबल प्रतियोगिता, स्लो साईकल रेस प्रतियोगिता, बिभिन्न कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम र मेड इन नेपाल र मेड इन उदयपुर प्याभिलियन समेत रहने उदयपुर महोत्सव मुल आयोजक कमिटिका संयोजक प्रदीप देउजाले जानकारी दिए । महोत्सवस्थलभित्र टेलीफोन/फ्रि वाईफाई, शुद्ध पिउने पानी, वीमा तथा पार्किङ सुबिधा, शौचालय सुबिधा, निशुल्क मास्क र सेनिटाईजर, उत्कृष्ट प्रदर्शकलाई पुरस्कार, २४ सै घण्टा विद्युत आपूर्तिलगायतको सुबिधा रहने बताइएको छ ।
त्रियुगा बसपार्कको दक्षिणतर्फ त्रियुगा नदी किनारामा हुने महोत्सव हरेक दिन बिहान ९ः०० देखि बेलुका ९ः०० बजेसम्म संचालन हुनेछ । स्टल बुकिङका लागि माघ ५ गतेलाई अन्तिम दिन तोकिएको छ । करिब दुई लाख बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु. ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई प्रवेश शूल्क छुट गरिएको छ ।
महोत्सव व्यवस्थापनका लागि १३१ जनाको मूल समिति रहने बताइएको छ । ५ जना सदस्य रहने मेला महोत्सव व्यवस्थापन समिति र बिभिन्न कार्यात्मक ३० उपसमिति र १९ वटा समिति रहने संघ उदयपुरका महासचिव साहले बताए । स्टलमा व्यपारिक फर्म कम्पनी, भाँडाकुडा, खाँद्यबस्तु, रेस्टुरेन्ट व्यवसाय, निजी अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल, फ्लोरिकल्चर, हस्तकला उद्योग, मनि एक्सचेन्ज, आईसक्रिम उद्योग, शैक्षिक संस्था परामर्श, बैंक तथा बित्तिय संस्था, भोजनालय, अटोमोवाईल, रेडिमेन्ट गार्मेन्टस, कृषि, जडीबुटीलगायत बिभिन्न गरी २५ प्रकारका स्टल व्यवस्थापन हुने आयोजकले जनाएको छ ।
आयोजक अर्थात जिल्ला उद्योग वाणिज्य संघ उदयपुर र संघमा आबद्ध पालिका संघका फर्महरुलाई २० प्रतिशत छुट दिइने उल्लेख छ । यस्तै दुई स्टल बुकिङ गर्नेलाई १० र दुईभन्दा बढी स्टल बुकिङ गर्नेहरुले १५ प्रतिशतसम्म छुट सुबिधा पाउनेछन् । मुख्य प्रायोजक बन्न चाहने फर्म वा व्यवसायिक संस्थाले १० लाख जम्मा गर्नुपर्ने उल्लेख छ । जसका लागि दुई विशेष स्टलसमेत प्रदान गरिनेछ । सह-प्रायोजकका लागि जम्मा गर्नुपर्ने रकम सात लाख तोकिएको छ । जसलाई एक विशेष स्टल प्रदान गरिनेछ ।
महोत्व प्रायोजक र सहयोगीबाट ४१ लाख आम्दानी अनुमान गरिएको छ । टिकट बिक्रीबापट ५० लाख, स्टल बिक्रीबापत ३० लाख र स्थानीय सरकारबाट ३० लाख गरी कुल एक करोड ५१ लाख आम्दानी हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २०२३-१२-०१ , समय : ०९:१३:३१ , १ वर्ष अगाडि