
काठमाडौं । प्रतिपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीबा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले गलत विधि र प्रक्रियामार्फत अध्यादेश ल्याएको जिकिर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

सदन बोलाउने बेलामा अध्यादेश ल्याउनु प्रक्रियागत हिसाबले पनि बेठिक रहेको भन्दै पाण्डेले संसदीय समितिमा विचाराधीन रहेका विधेयकलाई समेत मिनिमाइज गरेर सरकारले अध्यादेश ल्याएको जिकिर गरे ।
‘विधि, प्रक्रियाको हिसाबले छिटो गर्ने भन्ने छ त्यसमा बेठिक भयो । त्यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ,’ उनले भने ।
सरकारले गलत मनसायले अध्यादेश ल्याएकाले आवश्यक परे सडक आन्दोलनमा समेत उत्रिने पाण्डेले चेतावनी दिए ।
प्रकाशित मिति: २०२५-०१-३० , समय : १३:०६:२५ , ४ महिना अगाडि