राजनीतिमा ढलें ढलें गीत सुहाउँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले सरकार आजै ढल्छ भोलि ढल्छ भनेर व्यर्थैमा समय खेर फालेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको आयुलाई लिएर व्यर्थमा समय खेर नफाल्न आग्रह गरे ।

‘ढले ढले भन्ने गीत बजारमा अलि प्रचारमा छ । त्यस्तै प्राय: राजनीतिक नेताहरूले गाएको सुन्छु । ढल्यो ढल्यो ढल्यो… आज ढल्यो, भोलि ढल्यो, बिहान ढल्यो, बेलुका ढल्यो, राति ढल्यो, ढल्यो, ढल्यो,’ ओलीले भने, ‘यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवहरुमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन ।’

यद्यपि उक्त गीत श्लील नभएको टिप्पणी आएकाले त्यस्तो गीतलाई नक्कल नगर्न समेत नेताहरूलाई प्रधानमन्त्री ओलीले आग्रह गरे ।

‘यस्ता गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ । राजनीतिका मञ्चमा बन्द गरे हुन्छ । किनभने २०८४ सम्म सरकार टसमस हुँदैन,’  उनले भने ।

प्रकाशित मिति: २०२५-०१-३१ , समय : १४:३३:५६ , ४ महिना अगाडि