एक अर्ब ३८ करोड ९० लाख रोयल्टी वर्ल्ड लिङ्कबाट संकलन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्ल्ड लिङ्कबाट एक अर्ब ३८ करोड ९० लाख २२५ रुपियाँ रोयल्टी प्राप्त भएको जनाएको छ। शुक्रबार सञ्चार मन्त्रालयले पछिल्लो दुई सय दिनको उपलब्धि सार्वजनिक गर्दै यो विवरण सार्वजनिक गरेको हो। त्यसैगरी सुविसु केवलनेटबाट १७ करोड ४८ लाख ५१ हजार ६१५ रुपियाँ ४७ पैसा र भायनेट कम्युनिकेसन लिमिटेडबाट २६ करोड ६८ लाख ७६ हजार ५०९ रुपियाँ ३६ पैसा रोयल्टी प्राप्त भएको छ। २१०० मेगा हर्ज फ्रिक्वेन्सी प्रयोग बापत नेपाल टेलिकमबाट ३५ करोड २६ हजार २२९ रुपियाँ र एनसेलबाट ३६ करोड १५ लाख १६ हजार ६४६ रुपियाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ।

सरकारी निकायबाट प्रवाह हुने सेवालाई एकीकृत रुपमा नागरिक एपमार्फत उपलब्ध गराउन ती प्रणालीलाई नागरिक एपमा आबद्ध गरिएको जनाएको छ।

एनसेलको अनुमतिपत्र २०८१ भदौ १५ गतेदेखि २०८६ भदौ १४ गतेसम्म पाँच वर्षका लागि नवीकरण गरिएको, विद्यमान कानुनमा अनुमतिपत्रको वहाल अवधि २५ वर्ष पूरा गरेका सेवा प्रदायकको अनुमतिपत्र नवीकरणको लागि दूरसञ्चार नियमावलीमा संशोधन गरी इन्टरनेट सेवा प्रदायक (आइएसपी) को अनुमतिपत्र नवीकरण गर्न सुरु गरिएको साथै इन्टरनेट सेवा प्रदायक र दूरसञ्चार सेवा प्रदायक कम्पनीको बक्यौता असुर गरिएको मन्त्रालयले जनाएको छ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम टिकटक प्लेटफर्मलाई सूचीकरण गरिएको, हुलाक सेवा विभागको पुर्नसंरचना कार्य सम्पन्न गरिएको, ७५३ स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएको जसमा ६७६ हुलाक कार्यालय, ६ हुलाक निर्देशनालय, एक गोश्वारा हुलाक कार्यालय र ७० जिल्ला हुलाक कार्यालय रहनुका साथै ८० वटा हुलाक काउण्टर समेत स्थापना भइ सञ्चालनमा रहेका छन्।

सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ जारी भइ सो ऐनको प्रावधान बमोजिम रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकरण गरेर सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण गरिएको तथा यस संस्थाको अध्यक्ष र सञ्चालक समितिका सदस्य नियुक्ति भइ सोही अनुरुप काम सुरु भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २०२५-०१-३१ , समय : १९:५४:२३ , ४ महिना अगाडि