
चितवन । प्रधानमन्त्री कार्यालयले नागढुङ्गा-मुग्लिन खण्डको अनुगमन गरेको छ । प्रधानमन्त्रीको निर्देशनपछि जनसम्पर्क सल्लाकार किरण पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो ।
टोलीले निरीक्षणपछि एक वर्षभित्रमा निर्माण सम्पन्न गर्न सरोकार भएकालाई आग्रह गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य खण्डका रूपमा रहेको उक्त सडक स्तरोन्नतिका क्रममा सर्वसाधारणले दुःख पाएपछि यथाशीघ्र काम सम्पन्न गर्न सरोकार भएकालाई आग्रह गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहाकार पौडेल, निजी सचिव विनोदबहादुर कुँवर, प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर मोहदेव भट्ट, सडक विभागका उपमहानिर्देशक डा विजय जैसी, सिनियर डिभिजनल इञ्जिनियर सुरेश पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसहित दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । साथै तीनै वटा खण्ड हेर्ने आयोजनाका प्रमुख, इञ्जिनियर, निर्माण कम्पनीका प्रतिनिधिलगायत उपस्थिति थियो ।
एक वर्षभित्रमा निर्माण सक्नेगरी तालिका अद्यावधि गरेर काम गर्न आग्रह गरिएको प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर भट्टले जानकारी दिए ।
चितवनका प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार नियमित अनुगमन गरी कामलाई यथासक्य छिटो सम्पन्न गरेर आमनागरिकलाई सहजीकरण गर्ने विषयमा आयोजना प्रमुखलाई आवश्यक निर्देशन दिइएको छ । उनले हरेक महिना अनुगमन गरी कामलाई तीव्रता दिने वातावरण मिलाइने बताए ।
करिब ९५ किलोमिटर दूरी रहेको यो खण्ड तीन चरण (प्याकेज) छुट्याएर स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी छुट्याइएको छ ।
प्रकाशित मिति: २०२५-०२-०१ , समय : ०९:३५:१६ , ४ महिना अगाडि