वन व्यवस्थापन कार्यविधि सुधार गर्न महासंघको सुझाव

धनगढी । सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश समितिले दिगो वन व्यवस्थापन कार्यविधि २०८१ को मस्यौदालाई सुधार गर्न सुझाव दिएको छ ।

महासंघले मस्यौदा उपर राय, सुझाव पेस गर्दै कार्यविधि सुधार गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई सुझाव दिएको हो । महासंघका अध्यक्ष झुमा चौधरीले कार्यविधि सुधार गर्न सुझावसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई राय, सुझाव बुझाउनु भएको छ ।

महासंघले वन सम्वद्र्धन प्रणाली छनोटको आधारअन्तर्गत समूहको चाहना, आवश्यकता र क्षमताका आधारमा समूहको साधारण सभा वा भेलाले गरेको निर्णयलाई मुख्य आधारका रुपमा छ भनि लेख्न सुझाव दिएको छ ।

यस्तै, वन सम्वद्र्धनका लागि छनोट प्रणाली वा छत्र प्रणालीमध्ये कुन वन सम्वद्र्धन प्रणाली छनोट गर्ने भन्ने विषयमा उपभोक्ता समूहको निर्णय भएपछि मात्र प्रणाली छनोट गरी कार्ययोजना बनाइने छ भन्ने बारेमा स्पष्ट रुपमा लेख्न आग्रह गरेको छ ।

मस्यौदाको विभिन्न ठाउँमा लेखिएका बाली, बाली चक्र वा बाली कटान भन्ने शब्दहरुको सट्टा क्रमशः वन पैदावार, वन पैदावार सङ्कलन चक्र र वन पैदावार संकलन भन्ने शब्द राख्न आग्रह गरेको छ । छत्र प्रणाली अबलम्बन गर्दा पनि रुख कटानका लागि एक खण्ड तथा ब्लक वा कम्पार्टमेन्टमा मात्र केन्द्रित नभइ समग्र वन भएका सङ्कलन गर्नुपर्ने वन पैदावार सङ्कलन गर्ने वा गर्न पाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेको छ ।

छत्र प्रणाली अवलम्बन गर्दा माउँ रुख राख्ने भन्ने कुरा समूहको छलफलबाट तय गर्ने व्यवस्था गर्नु पर्ने महासंघको जोड छ ।

प्रकाशित मिति: २०२५-०२-०१ , समय : ०९:३८:४२ , ४ महिना अगाडि