
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ ।
पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत विद्युत् वितरण प्रणाली भूमिगत गरी ग्राहकलाई सोही प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पहिलो चरणमा पोखराको कुँडहर १३२र११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करिब तीन सय ग्राहकलाई विद्युत् आपूर्ति दिइएको हो ।

मुग्लिङ–पोखरा सडक विस्तार आयोजनासँगको समन्वयमा प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गरी त्यहाँस्थित जमिनमाथिको (ओभरहेड) लाइन र पोल हटाइएको छ । तार भूमिगत गरिएपछि गुजुल्टिएको तारले बनाएको कुरूपता हटी उक्त क्षेत्र सुन्दर देखिएको छ ।
सुरुमा कुँडहर सबस्टेसनसम्मको वितरण प्रणाली मात्र भूमिगत गर्ने व्यवस्था भए पनि पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निक्लनासाथ यात्रुहरूले गुजुल्टिएको तारले कुरूप बनेको सहर देख्न नपरोस् भनी विमानस्थलको मुख्य प्रवेशद्वारसम्म विस्तार गरिएको थियो ।
प्रकाशित मिति: २०२५-०२-०१ , समय : ०९:४७:२४ , ४ महिना अगाडि