माओवादी केन्द्रले फागुन ३ गतेदेखि हुलाकी राजमार्ग केन्द्रीत अभियान सुरु गर्ने

विराटनगर । झापाको कचनकवल गाउँपालिकाबाट आगामी फागुन ३ गतेदेखि नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत अभियान सुरु गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप देशव्यापी रुपमा कचनकवलबाट छ महिने अभियान सुरु हुन लागेको हो । हुलाकी राजमार्गदेखि सुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बुको सगरमाथाको फेदीमा समापन हुनेछ ।

हुलाकी राजमार्ग केन्द्रीत अभियानका लागि शुक्रबार माओवादी केन्द्र झापाको पाँचौं पूर्ण बैठकले कार्यविभाजन समेत गरेको छ । पार्टी–कार्यकर्ता परिचालनदेखि गाउँ–नगर अधिवेशन सम्पन्न गर्ने लगायतका कार्य भइरहेको पार्टीका जिल्ला सचिव मोहन टुडूले जानकारी दिए ।

पार्टीका उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई मजबुदर बनाउन नेता–कार्यकता रुपान्तरण हुनुपर्नेमा जोड दिए । प्रदेशका इन्चार्जसमेत रहेका उनले पार्टी भित्रका अन्तरविरोध हटाउनु पर्ने बताउँदै सुधारात्मक अन्तरविरोध आवश्यक रहेको बताए ।

प्रकाशित मिति: २०२५-०२-०१ , समय : १५:५७:४० , ४ महिना अगाडि