उपप्रधानमन्त्री श्रेष्ठले भने- यातायात सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाइनेछ

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउने बताएका छन् ।

मंगलबार एकान्तकुना र ठूलो भर्‍याङस्थित यातायात कार्यालयको अनुगमन गर्ने क्रममा उनले यातायात सुधारका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताए ।

सञ्चारकर्मीसँग उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अहिलेको समस्या समाधान गर्ने, कमजोरी सच्याउने र सेवाग्राहीलाई छिटो सहज सेवा दिन के गर्नुपर्छ भनेर हस्तक्षेपकारी कार्ययोजना बनाउँदैछौं ।’

प्रत्यक्ष रुपमै समस्या जान्न स्थलगत अनुगमनमा आएको भन्दै उनले समयमा काम नहुने र कतिपय सन्दर्भमा असहज पीडा गरी सेवा प्राप्त हुने अवस्था अन्त्य गर्ने बताए ।

कतिपय समस्या समाधान गर्न डिजिटाइजेसनमा जाने र आवश्यक साधन स्रोत समेत उपलब्ध गराउने भन्दै श्रेष्ठले भने, ‘केही समय मात्र पर्खिनुस् ।’

प्रकाशित मिति: २०२३-०१-०३ , समय : १३:३९:३२ , २ वर्ष अगाडि