‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पेरिस सम्झौताअन्तर्गत सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सोमबार नविकरणीय उर्जा क्षेत्रको विकासका लागि ‘उर्जा विकास मार्गचित्र–२०८१’ ले गरेको ऊर्जा रुपान्तरणबारे विकास साझेदारसँग गरेको छलफलमा उनले शून्य कार्बन उत्सर्जनको लक्ष्य पुरा गर्न सरकारले नविकरणीय उर्जाको विकासमा काम गर्दै आएको बताएका हुन् ।
मन्त्री खड्काले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा भर्खरै सम्पन्न दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रुपान्तरण सम्मेलनले नेपालको ऊर्जा भविष्यबारे गहन छलफल गर्नुका साथै शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सहयोग पुगेको बताए ।
उनले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र प्रतिव्यक्ति एक हजार पाँच सय किलोवाट ऊर्जा खपत गर्ने लक्ष्य सरकारले लिएकाले यसलाई पूरा गर्न कडा प्रयास, लगानी र सहकार्य आवश्यक रहेको उल्लेख गरे । नेपाललाई न्यायपूर्ण ऊर्जा सङ्क्रमणतर्फ अघि बढ्न विकास साझेदारहरुको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

उनले ऊर्जा विकास मार्गचित्रले ऊर्जा क्षेत्रमा कानुनी र नियामक सुधार, अफ–ग्रिड र अन–ग्रिड ऊर्जा पहुँच विस्तार गर्ने, सौर्य, वायु, जैविक ऊर्जा, र फोहरदेखि ऊर्जा जस्ता विविध नवीकरणीय स्रोतलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको स्पष्ट पारे ।

प्रकाशित मिति: २०२५-०२-०४ , समय : ०६:०२:४९ , ४ महिना अगाडि