
काठमाडौँ । पाठ्यपुस्तक छपाइ विक्रीवितरण गरेर शैक्षिक तथा साहित्यिक इतिहास बनाएको साझा प्रकाशन बन्द हुने अवस्थामा पुगेको छ । कर्मचारीले झण्डै साँढे दुई वर्षदेखि तलव पाएका छैनन् भने साझाका सबै कामहरू प्राय ठप्प अवस्थामा छ ।
कुनै बेला छपाइका लागि एक छत्र कायम रहेको पुरानो प्रकाशन साझा प्रकाशन यतिखेर चर्चाबाट बाहिर छ । १९७० मा गोर्खा भाषा प्रकाशिनी समितिको नाममा सुरु भएको साझा प्रकाशन १९९० मा नेपाली भाषा प्रकाशिनी समिति हुँदै २०२१ सालदेखि साझा प्रकाशनको नामबाट सञ्चालन हुँदै आएको छ । साझा प्रकाशनमा सरकारको ६०५ सेयर लगानी रहेको छ भने बाँकी ४०५ सेयर साहित्यकार, पत्रकार, शिक्षासेवीसहित सर्वसाधारणको छ । पाठ्यपुस्तक छपाइ देखि चर्चित साहित्यकि कृतिहरूसमेत प्रकाशन गर्दै आएको साझाले २०३९ सालदेखि नियमितरूपमा गरिमा पत्रिकाको प्रकाशन गर्दै आएको थियो । धेरै लेखकहरूको आकर्षण रहेको गरिमा पत्रिकामा छापिने उत्कृष्ट रचनादेखि साझाबाट प्रकाशित राम्रा कृतिहरूसमेत पुरस्कृत हुने गर्दथे । हाल आएर ती सबै इतिहास जस्तै भइसकेको छ ।

लोक साहित्य पुरस्कार, गरिमा सम्मान र साझा बाल साहित्य पुरस्कार साझा लोकसंस्कृति पुरस्कारकारजस्ता सम्मान तथा पुरस्कारले स्रष्टाहरूलाई तानिरहने साझा प्रकाशन केही वर्षदेखि लगभग कोमामा पुगेको अवस्थामा छ । कर्मचारीले साँढे २ वर्षदेखि तलव पाएका छैनन् भने प्रकाशनका सबै काम बन्द भएर उति बेलाका छपाइ मेसिनमा खिया परेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुना मदन, पारिजातको शिरीषको फूलदेखि भानुभक्तको रामायणजस्ता हजारौँ कृति प्रकाशन गरेर इतिहास बनाएको साझा प्रकाशनका देशभर रहेका १३ वटा पुस्तक विक्री केन्द्रहरू पुराना साहित्यिक कृतिहरू फाट्टफुट्ट बेचेर दिन कटाइरहेका छन् । देशैभर भएका साझाका भवन तथा जग्गाहरू पनि अलपत्रै अवस्थामा छन् ।
साझामा कार्यरत ७० जना कर्मचारी तलब नपाएर घाम तापेर बस्न बाध्य छन् भने गर्नका लागि काम पनि नभएको उनीहरूको गुनासो छ । यतिखेर साझा प्रकाशनको जिम्मेवारी त्यहीको ज्येष्ठ कर्मचारीलाई दिइएको छ । साझाका निमित्त महाप्रबन्धक भेषराज घिमिरे साझा प्रकाशन काम गर्ने अवस्था नभए बन्द गरिदिन सरकारलाई सुझाव दिए । तलव नपाउँदा कार्यालय बन्द नहोस् भनेर आफूहरू कार्यालयमा आउने गरेको उनी बताउछिन ।
प्रकाशित मिति: २०२५-०२-०५ , समय : १४:३४:३९ , ४ महिना अगाडि