
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपास देखिने मकुना नामक जंगली हात्तीको गोली लागेर मृत्यु भएको छ।
निकुञ्जको कोर क्षेत्रमा पठाउने क्रममा मकुनाले निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीमाथि आक्रमण गरेपछि गोली प्रहार गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताए ।

बुधवार दिउँसो कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा हात्ती स्विप टोलीले मकुनालाई देखेपछि धरपालुवा हात्ती चुरेगजमाथि आक्रमण गर्न लागेको थियो। टोलीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार आत्मरक्षाका लागि दुई राउन्ड हवाइ फायर गरेको थियो।
तर, मकुना नभागी सानो हात्ती खगेन्द्रप्रसादमाथि जाइलागेपछि रेजर श्याम तामाङ भुइँमा खसे। उनको सुरक्षाका लागि टोलीले मकुनामाथि तीन राउन्ड गोली प्रहार गरेको थियो। मकुना भागेझैं गरे पनि पुनः आक्रमण गर्न आएपछि थप एक राउन्ड गोली हानिएको थियो।
घटनास्थलमै ढलेको हात्तीलाई उठाउन खोज्दा नसकेपछि दिउँसो साढे ३ बजे प्राविधिक टोलीले मृत घोषणा गरेको थियो। पोस्टमार्टममा मकुनाको घाँटीको दाहिने भागमा गोली लागेको पुष्टि भएको छ।
प्रकाशित मिति: २०२५-०२-०६ , समय : ०९:४८:३६ , ४ महिना अगाडि