सर्बिया र न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । सर्विया र न्युजिल्यान्ड पठाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

त्यसरी ठगी गर्ने नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २७ वर्षीया हिमकला खाम्चा मगर, चितवन खैरहनी नगरपालिका–२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजु बस्ने ४१ वर्षीय बलराम सिलवाल र नवलपरासी पूर्व कावासोती नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३५ वर्षीय दिपेश महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउमध्ये हिमकलाले सर्विया पठाइदिछु भन्दै एक जना पीडितबाट ८० हजार रूपियाँ, बलरामले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख रूपियाँ र दिपेशले मलेसिया पठाइदिन्छु भन्दै चार जना पीडितबाट १२ लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउमध्ये हिमकला र बलरामलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा दिपेशलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: २०२५-०२-०६ , समय : १३:३०:४३ , ४ महिना अगाडि