अर्धवार्षिक समीक्षाः छ महिनामा सरकारले गर्यो दुई सय किलोमिटर सडक कालोपत्रे

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले झण्डै २०० किलोमिटर सडक कालोपत्रे गरेको छ। सरकारले विभिन्न अवस्थामा रहेका सडकलाई कालोपत्रे गरेको हो, जसमा दैनिक लगभग १।१२ किलोमिटर सडक कालोपत्रे गरिएको छ। यस अवधि भित्र दुई लेन सडकमा १८१.४२ किलोमिटर र चार लेन सडकमा २०.५८ किलोमिटर सडक कालोपत्रे गरिएको छ।

चालु आर्थिक वर्षमा सरकारले ९२० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। यसमध्ये ८०० किलोमिटर दुई लेन सडक र १२० किलोमिटर चार लेन सडक रहेका छन्। लक्ष्यको तुलनामा ६ महिनामा क्रमशः १९.७२ प्रतिशत र १७.१५ प्रतिशत प्रगति भएको छ।

यस अवधिमा २१ वटा पुल निर्माण गरिएको छ । यस वर्षको लक्ष्य १५० वटा पुल निर्माणको थियो। पुल निर्माणको प्रगति १४ प्रतिशत पुगेको छ।

चालु वर्षमा ५ किलोमिटर रेलवे ट्रयाकबेड निर्माण गर्ने लक्ष्य राखिएको थियो, जसमा २ किलोमिटर सम्पन्न भएको छ। त्यस्तै, ३ वटा पुल निर्माण गर्ने लक्ष्य थियो, जुन सबै पुलहरूको निर्माण सम्पन्न भएको जानकारी दिइएको छ।

कहाँ कति सडक कालोपत्रे भयो ?

हुलाकी राजमार्गमा ४२.५ किलोमिटर
मध्यपहाडी पुष्पलाल लोकमार्गमा ११ किलोमिटर
कालीगण्डकी कोरिडोर (गैडाकोट–राम्दी–मालढुङ्गा) मा ५ किलोमिटर
मालढुङ्गा–बेनी–जोमसोम कोरोला सडकमा १५.५ किलोमिटर
कोशी कोरिडोरमा १.५ किलोमिटर
साथै, कर्णाली कोरिडोरमा १९.२ किलोमिटर सडक खण्ड ग्राभेल गरिएको, सिद्धबाबा सुरुङ मार्गको १ हजार १२६ मिटर मुख्य सुरुङ खन्ने काम सम्पन्न गरिएको, र राष्ट्रिय राजमार्ग, रणनीतिक सडक तथा स्थानीय सडक अन्तर्गत २० वटा पुल निर्माण गरिएको जानकारी दिइएको छ। ३५ किलोमिटर राष्ट्रिय राजमार्गको आवधिक मर्मत पनि सम्पन्न भएको छ।

बजेट र खर्च
भौतिक पूर्वाधार मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। दोस्रो त्रैमाससम्म यसमध्ये ३५ अर्ब ४८ करोड १८ लाख रुपैयाँ खर्च भएको छ, जुन २३.५९ प्रतिशत बराबर हो।

प्रकाशित मिति: २०२५-०२-०७ , समय : ११:४२:५८ , ४ महिना अगाडि