अर्जुननरसिंह केसीको प्रस्ताव: नेपाल विद्युत प्राधिकरणको शेयर सर्वसाधारणलाई जारी होस्

काठमाडौं ।  २०८१ माघ २४ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरणको शेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । उनले भने, “नेपाल विद्युत प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणलाई शेयर जारी गर्न कानूनी व्यवस्था गरिएको भए पनि विगत ४० वर्षदेखि यसको कार्यान्वयन हुन सकेको छैन । यसले देश विदेशका इच्छुक नेपालीलाई विद्युत क्षेत्रमा लगानी गर्ने अवसरबाट वञ्चित गर्‍यो ।”
अर्जुननरसिंह केसीले सरकारलाई आह्वान गर्दै भने, “राष्ट्रिय श्रोत परिचालन गर्न तत्काल गम्भीर पहल गर्न आवश्यक छ । कानूनी प्रावधानअनुसार प्राधिकरणको शेयर जारी गरेर यसको सशक्तीकरण गर्न ढिला नगर्नुहोस् ।”
प्राधिकरणको सम्पत्ति अहिले सात खर्व रुपैयाँभन्दा बढी रहेको र विगत केही वर्षदेखि लगातार नाफामा रहेको प्राधिकरणको २० प्रतिशत शेयर जारी गर्दा एक खर्वभन्दा बढी रकम संकलन गर्ने सम्भावना छ । यसरी संकलित रकमलाई जलविद्युत र प्रसारण लाइन परियोजनामा लगानी गर्दा नेपाललाई आन्तरिक स्रोत र साधनले ऊर्जा क्षेत्रमा तीव्र गति दिन मद्दत पुग्ने छ ।
यसका अतिरिक्त, अर्जुननरसिंह केसीले प्राधिकरणको शेयर संरचनामा परिवर्तन ल्याएर सरकारको जोखिम र दायित्व कम हुने, साथै संचालक समितिमा शेयरधनिको प्रतिनिधित्व हुने भएपछि उत्तरदायित्व, पारदर्शिता, स्वायत्तता र सुशासनमा सुधार हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २०२५-०२-०७ , समय : १४:२४:०९ , ३ महिना अगाडि