तेह्र अर्ब सकियो तर जलसम्पदा कुरूपै

काठमाडौँ । ऐतिहासिक सभ्यता र मौलिक सांस्कृतिक विशेषतायुक्त काठमाडौँ उपत्यकाका नदी र खोलाको सफाइ र सौन्दर्यका नाममा १३ अर्ब रुपियाँ बगिसक्यो तर यी जलसम्पदालाई अझै ढलसरह व्यवहार गरिएको छ । जन्मदेखि मृत्यु संस्कारसम्म हुने नदी र खोलामा मानव मलमूत्रसहितको ढल सीधै मिलाउँदा जलसम्पदा ढलमतीमा परिणत हुन पुगेका छन् ।

२०५० को दशकसम्म सामान्य अवस्थामै बग्ने बागमती, विष्णुमती, मनोहरा, रुद्रमती अर्थात् धोबी खोला, टुकुचा, चखुँचा, यज्ञमती, हनुमन्ते, गोदावरी, महादेव खोलासहितका जलसम्पदा तीन दशकको अवधिमा ढलमै परिणत भएका हुन् ।

कुनै जलसम्पदामा नुहाउन योग्य पानी छैन । त्यसमाथि बागमती नदीसहित अन्य सबै खोलामा अहिले पनि घरबाट निस्किने फोहोर पानी मिसाइएको छ, जसका कारण हिउँदमा नदी र खोला आसपासका क्षेत्रमा दुर्गन्ध फैलिने गरेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: २०२५-०२-१० , समय : ०७:४०:५१ , ३ महिना अगाडि