
काठमाडौँ । हिमाली जीवन, पर्यावरणसँग प्रत्यक्ष सरोकार राख्ने याक र चौँरीको सङ्ख्या ठुलो परिमाणमा घट्दै छ । यो सङ्ख्या प्रत्येक १० वर्षमा ५० हजारका दरले घटिरहेको एक तथ्याङ्कले देखाएको छ । ३० वर्षअघि दुई लाखभन्दा धेरै रहेका याक र चौँरी २० वर्षअघि ५० हजारको हाराहारीमा घटेको र १० वर्षअघि एक लाख रहेको सङ्ख्या घटेर यतिबेला ६० हजारको हाराहारीमा झरेको तथ्याङ्कले देखाउँछ ।
सरकारले सञ्चालन गरेको याक आनुवंशिक स्रोत केन्द्रको प्रतिवेदनमा नेपालमा हाल ६२ हजारको हाराहारीमा याक र चौँरीको सङ्ख्या रहेको उल्लेख छ । प्रतिवेदनमा ३० वर्षअघि चौँरीको सङ्ख्या दुई लाखभन्दा धेरै रहेको र हरेक वर्ष सङ्ख्यामा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।

तीन हजार मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्म पाउन सकिने याक र चौँरी बहुउपयोगी जनावरको श्रेणीमा पर्छन् । दुग्धजन्य पदार्थ, उन, छाला, भल तथा भारी बोक्ने कामका लागि यो पशुलाई प्रयोग गरिने भएकाले हिमाली जीवनशैलीको अभिन्न अङ्ग मानिन्छ । विगतमा छदेखि ७० वटासम्म प्रतिगोठ पाइने चौँरीगोठ अहिले रित्ता हुन थालेको याकचौँरी कृषक महासङ्घका अध्यक्ष पाविहाङ राईले बताए। याक र चौँरी घटेकामा धेरैले चिन्ता गरे पनि संरक्षणमा प्रभावकारी उपाय भने नखोजिएको राईले बताए ।
ठिमाहा प्रजनन, हिमाली मानिसको पेसा परिर्वतन, रोग तथा सिकारी प्राणीको वृद्धि, चरिचरनको घट्दो गुणस्तर एवं समुदायको पेसाप्रतिको घट्दो मोहले चौँरी र याक घटिरहेको नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा.मनोजकुमार शाहीले उल्लेख गरे । हिमालको ट्रक भनेर चिनिने याक र चौँरी हिँड्ने ग्रामीण सडकमा यातायातका सवारीसाधनको पहुँच बढेकाले पनि मानिसले याकचौँरी पाल्न छाडेका छन् । हिमालको आम्दानी गर्ने र पुँजीको स्रोत याक भएको र त्यसले बिक्री गरेर अन्नको जोहो गर्ने क्रम घटेपछि पाल्ने क्रम पनि कम भएको उपाध्यक्ष शाहीले बताए । यो खबर आजको गोरखापत्रबाट लिइएको हो ।
प्रकाशित मिति: २०२५-०२-१० , समय : ०७:४६:५४ , ३ महिना अगाडि