काठमाडौंको वायु गुणस्तर ‘खतरनाक’

काठमाडौं। अचानक बढेको चिसोसँगै तुवाँलो बढ्दा काठमाडौँ उपत्यकाको एक क्षेत्रको वातावरण ‘खतरनाक’ रूपले प्रदूषित बनेको छ । मङ्गलबार शङ्खपार्क क्षेत्रमा अत्यन्त दूषित वातावरण रहेको रेकर्ड वायु गुणस्तर सूचकको स्टेसनले देखाएको छ ।
सूचकले ४५७ एक्युआई अर्थात् मानिसका लागि सास लिनै नहुने ‘खतरनाक’ गुणस्तरको वायु रहेको कलेजी रङको सूचक स्टेसनले रेकर्ड गरेको छ । सो क्षेत्रमा स्थानीय रूपमै धुलो उडिरहेकाले त्यस्तो देखिएको दाबी वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले गरे । केही दिनअघि ह्वात्तै बढेको तापक्रम घटेर चिसो हुँदा बढेको तुँवालोले वातावरण अति प्रदूषित गराएको वातावरण विभागले जनाएको छ ।

लामो समय वर्षा नभएकाले माथिल्लो वायुमण्डलमा धुलो र धुवाँको तह थुप्रिएको थियो । बढेको तातोले माथि उक्लँदै गरेको धुलो र धुवाँ अचानक घटेको चिसोका कारण तल्लो वायुमण्डलमा झर्दा तुवाँलोको रूप लिएकाले उपत्यकालगायत क्षेत्रमा वायु प्रदूषण उच्च बनेको लामिछाने औँल्याए । उनले भने, “यो तुवाँलो तापक्रम बढेमा केही घट्थ्यो तर चिसो बढेकाले बढ्ने क्रम जारी रहन्छ ।” त्यसमाथि उपत्यकाका विभिन्न स्थानमा सडक निर्माण तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम जारी छ । यसले निकालेको धुलो पनि तुवाँलोमा मिसिँदा वातावरण थप दूषित बन्न पुगेको उनले बताए ।

वायुको गुणस्तर दर्साउने पिएम १० को मात्रा ह्वात्तै बढेर २३८.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । यो भनेको वायुमा धुलोको कणको उच्चता हो । यो विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार सास लिन नहुने वायु हो । सामान्यतया ५० एक्युआईसम्मको वायु सास फेर्न मिल्ने मानिन्छ ।

त्यस्तै काठमाडौँबाट उपत्यका बाहिर जाने प्रमुख मार्गका रूपमा रहेको कलङ्की नागढुङ्गा सडक क्षेत्रमा पनि अत्यधिक प्रदूषण बढेको छ । गुर्जुधारा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग र सडकमार्गका कारण वायुमा अत्यधिक धुलो मिसिने गरेको छ, जुन मानव स्वास्थ्यका लागि हानिकारक छ । ती क्षेत्रका सडक छेउका घर तथा पसल धुलोले सेताम्य हुने गरेका छन् । सार्वजनिक तथा निजी सवारी साधनमा आवतजावत गर्ने आमनागरिकले महिनौँदेखि प्रदूषणमा यात्रा गरिरहेका छन् । बिहान बेलुका कहिलेकाहीँ सडकमा पानी हालिने गरिए पनि अधिकांश समय त्यस क्षेत्रको वातावरण धुलोमय हुने गरेको गुनासो स्थानीयले गरेका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: २०२५-०२-१२ , समय : ०६:३७:०८ , ३ महिना अगाडि