
काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो समय सट्टेबाजी, क्रिप्टोकरेन्सी कारोबारलगायत आर्थिक अपराधका घटना एकपछि अर्को गरी बाहिरिन थालेका छन् ।
यस्तामा नेपालीसहित विदेशी नागरिकसमेत पक्राउ पर्न थालेको छ । यसै क्रममा प्रहरीले आइतबार राति काठमाडौँको बुढानीलकण्ठबाट २३ जना भारतीयलाई पक्राउ गर्यो । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुढानीलकण्ठ–३ स्थित दोर्जे लामाको घर भाडमा लिई अनलाइन बेटिङ सञ्चालन गरेको सुराकीका आधारमा छापा मारी भारतको विहार बाङ्काका ती युवकलाई नियन्त्रणमा लियो ।

परिसरका प्रमुख विश्व अधिकारीका अनुसार छापा मारिएको स्थानबाट ८८ थान मोबाइल फोन, १० वटा ल्यापटप, ८१ हजार नगद बरामद भएको र प्रारम्भिक अनुसन्धानमा अवैध अनलाइन सट्टेबाजी हुने गरेको बताए ।
बरामद विद्युतीय उपकरण र कारोबारमा प्रयोग भएका एपको अनुसन्धान प्रहरीको प्राविधिक टोलीले गरिरहेको जानकारी दिँदै अधिकारीले भने, ‘लोटस’ नाम गरेको बेटिङ साइटमार्फत सट्टेबाजी गरेको खुलेको छ । यद्यपि हामी विस्तृत अनुसन्धान गरिरहेका छौँ ।” गत माघ २० गते ललितपुरको महालक्ष्मी–२, सानेपाबाट अवैध अनलाइन सट्टेबाजी गर्ने १० भारतीयसहित २४ जनालाई पक्राउ परेका थिए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।
प्रकाशित मिति: २०२५-०२-१२ , समय : ०६:३९:५९ , ३ महिना अगाडि