
विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुलीलाई दोषि ठहर गरेको हो ।
काठमाडौको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी रहेको बेला भ्रषटाचार गरेको अभियोग पराजुलीमाथि थियो । मुद्दामा विशेष अदालबाट सफाई पाएकोमा सर्वोच्चले उल्ट्याएको हो ।

उनलाई ६ वर्ष कैद सजाय र ६२ लाख ३७ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ ।
सो प्रकरणमा नेकपा एमालेका नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जनालाई सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलाशले बुधबार दोषी ठहर गरेको हो ।
विशेष अदालतबाट उनीहरुले सफाइ पाएकोमा त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेकोमा सर्वोच्चले विशेषको फैसला उल्ट्याउँदै आरोपि सबैलाई दोषि ठहर गरेको हो ।
पराजुली विभिन्न जिल्लाको स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी हुँदै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव बनेका थिए । उनलाई २०७६ सालमा सचिवबाट राजीनामा गराएर २०७६ वैशाख १२ गते प्रदेशसभाको सचिव नियुक्त गरिएको थियो । पराजुली पुनः २०८१ वैशाख ९ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि प्रदेशसभाको सचिवमा नियुक्त भएका थिए । अदालतको फैसलासँगै उनी स्वतः पदमुक्त भएका छन् ।
पाराजुलीसहित बिरुद्द अख्तियारले २०७१ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले विशेष अदालतमा दर्ता गरेको अभियोगपत्रमा गुरुयोजना बनाएर व्यवस्थित पूर्वाधार र संरचना विकास गर्नुपर्ने क्षेत्रमा बालुवाखानी सञ्चालन गरेर कोषको सम्पत्ति दुरुपयोग गरेको आरोप थियो ।
प्रकाशित मिति: २०२५-०२-१३ , समय : १०:२०:०६ , ३ महिना अगाडि