‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थोलेको छ ।

ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने व्यवस्था गर्न थालिएको उनले बताए ।

त्रिवि पनिकाले यसअघि पनि ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्ने व्यवस्था गरे पनि सफल हुन सकेको थिएन । “अनलाइन फारामका लागि नयाँ सर्भर बनाएर सफ्टवेयर जोड्दैछौँ, अबको दुई हप्तामा यो काम हुन्छ । त्यसपछि विद्यार्थीले जहाँसुकैबाट अनलाइनमार्फत सेवा लिन सक्नेछन्”, परीक्षा नियन्त्रक जोशीले भने ।

यो व्यवस्था भएमा ट्रान्सक्रिप्ट, पुनर्योग, चारित्रिक प्रमाणपत्रलगायत काम अनलाइनमार्फत हुनेछन् । जोशीले अनलाइन फाराम भरेका विद्यार्थीका प्रमाणपत्र पनिकाका क्षेत्रीय कार्यालयमा पठाउनेसमेत बताए ।

प्रकाशित मिति: २०२५-०२-१४ , समय : १७:५३:४१ , ३ महिना अगाडि