
काठमाडौं । सभामुख देवराज घिमिरेको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठ र सोविता गौतमद्वारा सदनमा बोल्नका लागि समय मागेको घटनामा अनावश्यक प्रचारबाजी गरेको प्रतिक्रिया दिएको छ।
सांसद सुमना श्रेष्ठले सोमबार र माघ २७ गते बोल्नको लागि समय मागेका थिए, तर नदिएको भन्दै आलोचना गरेपछि सभामुखको सचिवालयले यसको जवाफमा गलत प्रचारबाजी भएको प्रतिक्रिया दिएको हो।

सचिवालयले जनाएको छ कि सोमबारको बैठक सुरुवातको घण्टी बस्न थालेपछि सुमना श्रेष्ठ भारतमा नेपाली विद्यार्थीका समस्याबारे बोल्नका लागि समय मागेकी थिइन्। सचिवालयले स्पष्ट पारेको छ कि बैठक सुरु हुनुभन्दा अघि आकस्मिक समयमा बोल्नका लागि कम्तीमा २० देखि ३० जना सांसदहरूले समय माग्ने गरेका छन्, तर १० जनालाई मात्रै समय दिइन्छ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि सोही समयमा थिए र समयको अनुरोध दलीय रूपमा नगरेको सचिवालयले जानकारी दिएको छ।
यसअघि माघ २७ गते सांसद सोविता गौतमले पारित भएको विधायन सम्बन्धी बोल्नका लागि माघ २८ गते आकस्मिक समय मागेकी थिइन्। तर सभामुखले विधेयक पारित भइसकेकाले त्यो विषय आकस्मिक नभएको प्रतिक्रिया दिएका थिए।
सभामुखको सचिवालयले थप बताएको छ कि विधेयक पारित गर्नु अघि सभामुखले कानून मन्त्री, उपसभामुख र प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेर सहमति बनाएका थिए, र सोही सहमतिअनुसार विधेयक अघि बढाइएको थियो। गौतमले ‘प्रोसेस’ बिग्रिएको भन्दै बोल्न चाहेका थिए, तर सभामुखले उक्त विषय आकस्मिक नहुने भन्दै अरू कुनै विषय राख्न सक्ने प्रतिक्रिया दिएका थिए ।
प्रकाशित मिति: २०२५-०२-१८ , समय : ११:४९:४० , ३ महिना अगाडि