
रामेछाप । गत भदौ ८ र असोज १२ को अविरल वर्षाले क्षति पुगेको रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवाको सल्लेटारस्थित शैलुङ अल्लो प्रशोधन उद्योग अझै सञ्चालनमा आउन सकेको छैन । स्थानीय कच्चा वस्तु अल्लोको सदुपयोग गरी कपडा बनाउने यो उद्योगले अहिले ठुलो सङ्कट झेलिरहेको छ । सीमान्तकृत थामी समुदायले सुरु गरेको यो उद्योग सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा अलमलमा परेका छन् ।
उद्योगमा सुरु गरेकै वर्ष क्षति पुगेपछि उद्योग सञ्चालक अब कसरी अघि बढ्ने भन्ने अन्योलमा छन् । अल्लो प्रशोधनको काम सुरु गरेको दुई वर्ष पुगे पनि कम्पनी दर्ता गरेर उद्योग सुरु गरेको एक वर्ष भएको उद्योगका अध्यक्ष भीमबहादुर थामीले बताए।

स्थानीय शैलुङको जङ्गलमा पाइने सिस्नो जातको अल्लो सङ्कलन गरेर लोक्ताबाट धागो निकाली भाङ्ग्रोलगायत विभिन्न लुगा उत्पादन गर्ने सो उद्योगमा नसोचेको विपत्ति आइलागेको उनले बताए । उद्योगको भवनमा क्षति पुगेपछि गत भदौदेखि उद्योग सञ्चालनमा आउन नसकेको उनले बताए।
प्रकाशित मिति: २०२५-०२-२० , समय : ०७:१४:०२ , ३ महिना अगाडि