
गोरखा। नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोरखा दरबार सङ्ग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्य पर्यटक गरी ७५ हजार ७९१ जनाले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिए । उनका अनुसार सङ्ग्रहालयको भ्रमण गर्नेमध्ये सबैभन्दा धेरै शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू छन् । “गोरखा दरबार सङ्ग्रहालयमा नेपाल एकीकरणको इतिहास बुझ्न र अध्ययन गर्न पाइन्छ”, प्रमुख कार्कीले भने, “शैक्षिक भ्रमणका सिजनमा धेरै जिल्लाबाट यहाँ अवलोकन गर्न विद्यार्थीहरू आइपुग्छन् ।”

यस्तै, सार्क राष्ट्र र अन्य देशका पर्यटकसमेत गोरखा दरबार सङ्ग्रहालय घुम्न आउने गरेको उनको भनाइ छ । प्रमुख कार्कीकाअनुसार साउनयता सङ्ग्रहालयको भ्रमण गर्नेहरूमा ४३ हजार ८४८ जना विद्यार्थी छन् । यस्तै, ३० हजार ७०४ जना आन्तरिक, एक हजार १६६ जना तेस्रो मुलुक र ७३ जना सार्क राष्ट्रभित्रका पर्यटकले सङ्ग्रहालयको भ्रमण गरेका छन् । सङ्ग्रहालयमा पर्यटकहरूले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलगायत शाहवंशीय राजाहरूको इतिहास अध्ययन गर्न पाउने व्यवस्था छ ।
प्रकाशित मिति: २०२५-०२-२० , समय : ०७:२८:२४ , ३ महिना अगाडि