
बागलुङ। पछिल्लो समय पर्यटन व्यवसाय चलायमान भएसँगै यहाँ होटल व्यवसायमा आकर्षण बढ्न थालेको छ । सदरमुकाम बागलुङ बजारदेखि जिल्लाका दूरदराजसम्म होटलमा लगानी बढ्न थालेको हो । पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले केही दिनअघि सदरमुकाम बागलुङ बजारमा होटल इला कम्फोर्टको उद्घाटन गरे ।
पछिल्लो पटक सञ्चालनमा आएको यो होटल जिल्लाकै धेरै लगानीको पहिलो होटल हो । उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रु ३० करोड लगानीमा सञ्चालनमा ल्याउनुभएको होटलले सदरमुकाम भित्रिने पर्यटक लक्षित गरेर सेवा सुविधा विस्तार गरेको छ । झण्डै ६ महिनाअघि बजारमै सञ्चालनमा रहेका दुई होटलले सेवा बिस्तार गरे । लगानी बढाए। होटल रेड एप्पलले स्थानान्तरणपछि फराकिलो क्षेत्रमा आफ्ना सेवा सञ्चालनमा ल्याएको छभने होटल शितलले रु दुई करोड लगानी थप गरेर सेवा थालेको छ ।

सदरमुकाममा रहेका होटल दि राजन, पिस प्यालेस, समिट धौलागिरी, होटल पर्व लगायतका होटल पनि आफ्ना सेवा बिस्तारमै छन् । अन्य होटल तथा रेष्टुँराले पनि पर्यटक लक्षित सेवालाई केन्द्रमा राखेका छन् । सदरमुकाम बाहिर घोडाबाँधेमा माउन्टेन भ्यु, गलकोटमा गलकोट स्क्वायर, बडिगाडमा एग्रो रिसोट, कुश्मीशेरामा साकुरा, बुर्तिबाङमा होटल दरबार र निसीको झिँवाखोलामा होटल लोकमार्ग पर्यटक लक्षित होटल हुन् ।
पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले बागलुङमा होटल व्यावसायमा लगानी बढाउदै लगिएको हो । बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, पञ्चकोट, शालग्राम संग्राहलय, तथा ढोरपाटन शिकार आरक्ष लगायतका प्रमुख पर्यटकिय गन्तव्यको अवलोकन भ्रमण गर्न आउने पर्यटकको चहलपहल बढ्न थालेपछि सुविधा सम्पन्न होटल तथा लजहरूको विस्तार हुने क्रम बढेको होटल सगुनका सञ्चालक सञ्जय श्रेष्ठ बताउछन ।
प्रकाशित मिति: २०२५-०२-२४ , समय : ०७:१२:३६ , ६ महिना अगाडि