
काठमाडौं । बुधबार बिहानै सुनसरी इटहरीको मुख्यचोकस्थित सेन्ट्रल प्लाजाको पाँचौं तल्लामा आगो लाग्यो । त्यहाँ होटल छ । बिहान साढे ९ बजेतिरबाट सुरु भएको आगलागी नियन्त्रणका लागि इटहरी उपमहानगरपालिकाका दुईवटा दमकल त्यहाँ लगियो ।
त्यसै क्रममा भवनभित्र केही मानिस फसेको जानकारी आयो । दिउँसो नेपाली सेनाको हेलिकप्टर त्यहाँ पुग्यो र आगलागीमा फसेका १६ जनालाई उद्धार गरिएको छ । केहीलाई हेलिकप्टरमार्फत उद्दार गरिएको हो भने केहीलाई भने डोरीमार्फत प्रहरी, सशस्त्र प्रहरी र सेनाले उद्दार गरेको हो ।

हालसम्म १६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । जसमा ११ जना पुरुष र पाँच जना महिला छन् । अहिलेसम्म पनि ६ वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।
इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डा रहेको थियो । उक्त होटलबाट नै आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रकाशित मिति: २०२५-०३-२६ , समय : १४:१९:३० , २ महिना अगाडि