सुनिता डंगोलले गरिन् बालेनलाई कटाक्ष, एमालेको बचाउ

काठमाडौं । सत्तारुढ नेकपा एमालेले लोकतन्त्र दिवसको अवसर पारेर बिहीबार काठमाडौंको भृकुटीमण्डपमा युथ सेलिब्रेसन कार्यक्रम गर्‍यो । उक्त कार्यक्रममा एमाले नेताहरुले सम्बोधन गरे ।

त्यसमध्ये पनि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गरेको भाषण चर्चामा छ । उनले मेयर बालेन शाहप्रति कटाक्ष गरेकी छिन् भने आफ्नो पार्टी नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरिन् ।

उपमेयर डंगोलले आफ्नो पार्टी एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने बताइन् ।

सम्बोधनको क्रममा डंगोलले आफूलाई एमाले मन पर्नुको कारण खुलाएकी थिइन् । ‘एमालेले कसैको घर जलाउन सिकाउँदैन । कहीं कतै लुटपाट गर्न युवा प्रयोग गर्दैन । एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ,’ उनले भनिन्, ‘त्यसकारण मलाई एमाले मन पर्छ । सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन । एमालेले राम्रा कामका प्रचारप्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ । त्यसकारण मलाई एमाले मन पर्छ ।’

उनले देश बनाउनका लागि स्टन्ट गर्न नहुने पनि बताइन् । ‘अहिले हामी देख्छौं, धेरै जना स्टन्ट गर्नुहुन्छ । बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ । अनि पपुलर बनेर मात्रै देश बन्छ जस्तो पनि गर्नुहुन्छ । तर स्टन्ट गरेर देश बन्दैन,’ डंगोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्दैन । स्टन्ट गरेर देश बन्छ ? देश बनाउने हो भने स्टन्ट गर्ने होइन, काम गर्ने युवा बनौं ।’

उनले अहिले आफ्नो पार्टीको नेतृत्व र आफूलाई समेत चारैतिरबाट आक्रमण भइरहेको दाबी गरिन् । आफू सधैं आफ्नो पदप्रति बफादार भएर काम गरिरहेको उनले बताइन् ।

प्रकाशित मिति: २०२५-०४-२४ , समय : १७:३५:४१ , ४ हप्ता अगाडि