
मोरङ ।विराटनगरको रानी भन्सार अगाडी सशस्त्र प्रहरीले एक महिलामाथि कुटपिट गरेको आरोप लागेको छ । स्थानीय २६ वर्षीय सलमा खातुन नाम गरेकी ती महिलालाई भन्सार चेकजाँचमा खटिएका सशस्त्र प्रहरीले कुटपिट गरेर सख्त घाइते बनाएको आरोप छ । घटना शुक्रवारको भएको दाबी गरिएको छ ।
कुटपिटबाटै खातुनको आँखामाथि चोट लागेको समेत दाबी गरिएको छ । उनलाई भारतको जोगवनी नाकाबाट कपडा तस्करी गरी नेपाल तर्फ ल्याउने क्रममा चेकजाँचमा खटिएका सशस्त्र प्रहरीहरूले रोकेका थिए । शरीर खानतलासी गर्न नदिएपछि महिला र सशस्त्र प्रहरी बिच विवाद भएको थियो । सोही क्रममा महिलालाई चन्दन थारु नाम गरेका सशस्त्र प्रहरीले लछारपछार पारेको भिडियोमा देख्न सकिन्छ । त्यस क्रममा महिला बेहोस भएर सडकमै ढलेकी थिइन ।

भिडियोमा ती महिलाको साथीले ५० रुपैयाँ ‘घुस’ नदिएको कारण कुटपिट भएको आरोप समेत लगाएकी छिन् । त्यसो त महिलाहरूले जोगवनी नाकाबाट खाद्यान्न र कपडाजन्य सामानहरू तस्करी गरी नेपाली बजारमा बेच्ने कार्य दैनिक जस्तो हुने गर्छ । यद्धपी सशस्त्र र जनपद प्रहरीले यस्ता महिलाहरूबाट प्रति व्यक्ति ५०/१०० रुपैयाँ घुस लिएर छाड्ने गर्छन् । हाल भने ‘पोके तस्करी’ गर्ने कार्यलाई ‘टाइट’ गरिएको भनेर सशस्त्र प्रहरीले दाबी गरिरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार ती महिलाले सशस्त्रलाई कपडा ल्याए बापत घुस नदिएकै कारण विवाद भएको आरोप लगाएका छन् । उनीसँगै अन्य महिलाले लुकाएर घुस दिएको तर उनले नदिई हिँडेपछि सशस्त्र प्रहरीले उनलाई रोकेको भनिएको छ ।
यता सशस्त्र प्रहरीले भने शरिरमा कपडा लुकाएर तस्करी गरेको देखेपछि शरीर खानतलासी गर्न नदिएपछि महिलाले बेहोसको ‘नाटक’ मात्र गरेको दाबी गरेको छ । मोरङका सशस्त्र प्रहरी बलका प्रमुख एसपी राजेश घिमिरेले कुनै ठुलो घटना नभएको दाबी गदैं महिलाले कपडा तस्करी गर्दा भएको विवादले बेहोसको नाटक मात्र गरेको बताए ।
‘सलमा खातुन नाम गरेकी ती महिला तस्करी हुन, यसअघि पनि सशस्त्र प्रहरीसँग पटक पटक विवाद गरेकी महिला हुन’ घिमिरेले प्रदेश पोर्टसँग भने ‘शुक्रवार भने मापसे गरेकी रहेछिन्, खानतलासी गर्दा ढलेको नाटक मात्र गरेकी हुन । पछि उनको श्रीमानलाई जिम्मा लगाएर पठायौ ।’ यो घटनामा कुटपिट कतै नभएको एसपी घिमिरेलेको भनाई छ ।
प्रकाशित मिति: २०२५-०७-१२ , समय : २१:४१:१४ , ७ घन्टा अगाडि