कोशी प्रदेश खारेजीको आन्दोलनमा विराटनगरमा घाइते भएका पहिचानवादी युवा नेता पदम लिम्बुको निधन

इटहरी । कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते धरान १५ का पदम लिम्बु लाजेहाङको आज बिहान निधन भएको छ ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका उनको आज बिहान २.३० बजे निधन भएको हो । उनको निधन भएको पुष्टि लिम्बुवान किरात नामाङकन संघर्ष समितिका सदस्य पदम अधिकारीले पुष्टि गरेका छन् ।

वीपीमा उपचार गराईरहेका लिम्बुलाई आजै हेलिकप्टर चाटर गरेर थप उपचारका लागि काठमाडौं लैजाने तयारी समेत भएको अधिकारीले जानकारी दिए ।

निधन भएका लिम्बु लिम्बुवान भोलेन्टियरका कमाण्डर थिए । ५ गतेको विराटनगर स्थित मुख्यमन्त्री कार्यालय अगाडि कोशी प्रदेश खारेजीको आन्दोलनमा सुरक्षाघेरा तोडेर आन्दोलनलाई अगाडि बढाउने पहिलो व्यक्ति नै लिम्बु भएको अधिकारीले बताए ।

वीपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएका उनको होस खुलेको थिएन । लिम्बुको टाउकोको देब्रे पटी ब्रेनमा खुन जमेको चिकित्सकहरूले बताएका छन् । शल्यक्रिया गरेर जमेको रगत सफा गर्नु जरुरी छ । तर, बेहोस अवस्थामा शल्यक्रिया गर्न नमिल्ने भएकोले होस फर्कने प्रतीक्षा गरिएको थियो ।

टाउकोमा चोट लागेका उनले बान्ता गरेपछि अचानक बेहोस भएपछि उपचारार्थ वीपी र्पुयाइएको हो । चिकित्सकहरूले लिम्बुलाई तत्काल आइसियुमा भर्ना गराएका थिए ।

विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारी माथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठी चार्जमा घाइते लिम्बुको टाउकोमा गम्भीर चोट परेको हो ।

विराटनगरमा भएको प्रदर्शनमा प्रहरी दमनबाट आन्दोलनकारीहरू आलोक चाम्लिङ, रमेश राई, विशाल राई र दुर्गा राई पनि घाइते भएको संयुक्त सङ्घर्ष समितिद्वारा चैत ६ गते प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच लिम्बुको निधनसँगै अब प्रदेश नामकरणको मुद्धालाई लिएर आन्दोलन थप कडा र शसक्त हुने अधिकारीले बताएका छन् । उनका अनुसार किरात लिम्बुवान प्रदेशका पहाडी जिल्लाका गाँउ गाँउमा आन्दोलनका लागि जनताहरु स्वत तयार भएका छन् ।

तराईका जिल्लाहरुमा पनि सबै जाति समुदायसँग गाँउ गाँउमा र टोल टोलमा आन्दोलन परिचालन कमिटि गठनको तयारी थालिएको छ । अधिकारीले भने ‘अब प्रदेशको नाम किरात लिम्बुवान नभएसम्म आन्दोलन रोकिने छैन । कोशी नाम राख्नका लागि मतदान गर्ने प्रदेश सांसदहरुलाई जिल्ला र गाँउ प्रवेशमा रोक लगाउने कार्य पनि जारी नै राखिने छ ।’

प्रकाशित मिति: २०२३-०३-२४ , समय : ०७:०१:४७ , २ वर्ष अगाडि