
काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै छ । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैडकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भोलिबाट अवकाशमा जाँदै छन । सिंहको अवकाशसँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ ।

आईजीपीको दाबेदारमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरु छन । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका थिए ।उनीहरूमध्ये एक जना आइजीपी बन्ने छन ।
प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आइजिपी बनाउन सक्ने उल्लेख छ ।
यही चैत १० (आज) मा प्रहरी महानिरीक्षक –आइजिपी) धीरजप्रताप सिंह अवकाश हुँदा उनीसँगै तीन एआइजी पनि अनिवार्य अवकाशमा जाँदै छन । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानेछन ।
हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुनः रिक्त हुन्छ ।
हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआइजीमा डिआइजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्यविधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा विसं २०८१ चैतसम्मको रहनेछ ।
यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्को आलोचनासमेत हुने गरेको थियो । पूर्व प्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउछन । गृह मन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषद्को बैठकले सोमबार पदोन्नति भएका एआइजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ ।
एआइजीमा पदोन्नति भएकी किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वोच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला हुन । यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिइन ।
बज्राचार्यसँगै डिआइजीमा बढुवा भएकी मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामा नै पछि परेकाले उनी महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेकी हुन ।
प्रकाशित मिति: २०२३-०३-२४ , समय : ०९:५८:१४ , २ वर्ष अगाडि