प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा प्रचण्ड बहुमत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाका २७५ मध्ये २६८ जनाले विश्वासको मत दिएका छन् ।

कुल २७० जनाले मतदान गरेकोमा २६८ मत प्रचण्डको पक्षमा परेको हो । नेपाली कांग्रेसबाट निर्वाचित टेकबहादुर गुरुङ निलम्बित छन् भने कांग्रेसका अन्य तीन जना सांसद बैठकमा अनुपस्थित भए ।

बैठकको अध्यक्षता गरेका पशुपतिशमशेर राणाले मतदानमा भाग लिएनन् । प्रधानमन्त्री प्रचण्डलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् ।

प्रकाशित मिति: २०२३-०१-१० , समय : २१:४९:५४ , २ वर्ष अगाडि