
फिदिम । गर्भ निरोधका लागि महिलालाई लगाइने ‘सङ्गिनी सुई’ पाँचथरमा कुकुरलाई लगाएर दुरुपयोग गर्ने गरेको पाइएको छ। पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले सदरमुकाम फिदिममा चलाएको कुकुर, बिरालोका लागि स्थायी बन्ध्याकरण शिविरमा ल्याइएका कुकुरलाई सङ्गिनी सुई लगाइएको हो।
सङ्गिनी लगाएका पोथी कुकुरको पाठेघरमा पिप जम्ने र पाक्ने जस्ता गम्भीर प्रकृतिको सङ्क्रमण (पायोमेट्रा) देखिएको विज्ञ केन्द्र पाँचथरका प्रमुख डा. मनोज महतोले बताए ।

गत महिना चलाइएको शिविरमा ल्याइएका ८६ पोथी कुकुरमध्ये १३ वटा कुकुरमा सुई लगाइएको पाइएको थियो। तीमध्ये छवटाको पाठेघरमा सङ्क्रमण (पायोमेट्रा) देखिएको महतोले बताए ।
पायोमेट्रा देखिएकामध्ये चारवटा घरपालुवा र दुईवटा सामुदायिक कुकुर थिए। सङ्गिनी लगाएका सबै कुकुरमा गम्भीर प्रकृतिको सङ्क्रमण देखिएकाले तिनीहरूको पाठेघर नै झिकेर फ्याँकिएको थियो।
नेपाल सीआरएस कम्पनीले उत्पादन गरेको सङ्गिनी सुई सरकारी स्वास्थ्य संस्थाले मान्छेलाई लगाइदिन्छन्। निजी क्लिनिकले सङ्गिनी सुई लगाइदिने सेवा लिन सम्बन्धित कम्पनीको स्वीकृति लिनुपर्छ। त्यस्ता क्लिनिकले तालिम प्राप्त चिकित्सकबाट त्यो पनि मान्छेलाई मात्रै सङ्गिनी सुई लगाउन पाउँछन्। पाँचथरमा कुनै पनि निजी क्लिनिकले सङ्गिनी सुई लगाइदिने नगरेको औषधि व्यवसायी सङ्घका उपाध्यक्ष वसन्तराज पाण्डेले बताए ।
प्रकाशित मिति: २०२३-०३-२५ , समय : १३:५६:४० , २ वर्ष अगाडि