पदम लिम्बू लाजेहाङको परिवारलाई तीन लाख राहत दिने प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले विरोध प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको छ ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैंठकले तत्कालका लागि लिम्बूको परिवारलाई तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको बताइएको छ ।

पहिचान झल्किने नाम नराखेर कोशी प्रदेश नामकरण गरेको विरोधमा विभिन्न जातीय पहिचान भएका सामाजिक संघसंस्थाहरुको संयुक्त विरोध प्रदर्शनका क्रममा घाइते भएका लाजेहाङको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

विराटनगरको प्रदर्शनका क्रममा शसस्त्र प्रहरीले प्रहार गरेको लाठीले उनको टाउकोमा लागेकाले गम्भिर घाइते भएका थिए ।

चैत ५ गते विराटनगरको रोडशेष चोकमा निषेधाज्ञा उल्लङ्घन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ भीड बढ्ने क्रममा प्रहरीले अन्धाधुन्ध लाठी चार्ज र अश्रुग्याँस प्रहार गरेको थियो । त्यती गर्दा पनि भीड नियन्त्रण नभएकाले प्रहरीले हवाइफायर गरी भीडलाई तितरबितर बनाएको थियो ।

प्रदेश सरकारले लिम्बूको निधनप्रति गहिरो व्यक्त गर्दै राहत प्रदान गर्ने निर्णय गरेको हो । साथै, मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारले उक्त घटना छानबिन गर्न गठन गरेको छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

 

प्रकाशित मिति: २०२३-०३-२७ , समय : १७:५०:०९ , २ वर्ष अगाडि