
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालय ट्राभल मार्ट २०२३ का लागि शुभकामना व्यक्त गरेका छन् ।
एक विज्ञप्ती सार्वजनिक गर्दै प्रद्यानमन्त्री कार्यलयले आगामी जुन ६ देखि ९ सम्म काठमाडौँमा हुन गइरहेको हिमालय ट्राभल मार्टको चौथो संस्करणको लागि शुभकामना व्यक्त गरेका हुन ।
मार्टमा आउने अन्तर्राष्ट्रिय विशिष्ठ पाहुनाहरु, नेपाल स्थित बिदेशी कुटनीतिक नियोगका महामहिम राजदूतहरु, नेपाल सरकारका माननीय मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरु, अन्र्तराष्ट्रिय क्रेताहरु, वक्ताहरु, पत्रकार, ब्लर्गस लगायत पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरु र निजी क्षेत्रका व्यवसायीहरुलाई स्वागत तथा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

नेपाललाई हिमालय प्रवेशद्धारको रुपमा पहिचान गराउँदै नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा बन्दै गएको प्रतिष्ठित हिमालयन ट्राभल मार्टको चौथो संस्करण आयोजना हुन गइरहेकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले नेपाल लगायत हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मार्ट प्रमुख मञ्च भएको बताएका छन् ।
देशमा आर्थिक वृद्धि र अनेकन रोजगारीको अवसरहरु सिर्जना गर्न प्रचुर सम्भावनाहरुको रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै नेपाललाई ‘इमर्सिभ एन्ड ट्रान्सफरमेटिभ’ जीवन्त अनुभवहरु प्रदान गर्ने एक आकर्षक पर्यटन गन्तव्यको रुपमा विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।
पुर्वाधार, सडक , विमानस्थल र अन्य यातायात सुविधाको विकास र स्तरोन्नत्ति, आवश्यक नीति सुधार, उड्डयन क्षेत्रको सुदृढिकरण, निजी क्षेत्र र व्यवसायी समुदायलाई प्रोत्साहन र देशमा दिगो पर्यटन प्रवद्र्धन लगायतका थुप्रै प्राथमिकताहरु पहिचान गरी सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ ।
“हामी सबैलाई थाहा छ कि नेपाल साहसिक पर्यटन गन्तव्यकोे रुपमा व्यापक रुपमा चिनिएको छ र सोही रुपमा उच्च बजारीकरण समेत गरिएको छ । तर, त्यतीमात्र नभई देशमा अतुलनीय संस्कृतिक सम्पदा, कला र वास्तुकला, तीर्थस्थल, योग, आयुर्वेद, ध्यान, होलिस्टिक रिट्रीट्स र मौलिक आतिथ्यता लगायतका अनेकन मूर्त तथा अमूर्त उत्पादनहरु र सेवाहरु समेतको अपार पर्यटन सम्भावनाहरु छन् जुन वर्षभरीनै पर्यटकहरुका लागि आकर्षण हुनसक्छन्” प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।
विश्वव्यापी महामारीको अवरोधको अन्त्यपछि पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स र नेपालका अन्य पर्यटन सम्बद्ध संघसंस्थाहरुको सहकार्य र अग्रणी पहलस्वरुप हिमालयन ट्राभल मार्टको आयोजनाले महामारीपछिको पर्यटन पुनः उत्थान, नेपालको पर्यटन क्षेत्रको बजारीकरण र प्रवद्र्धनका लागि नयाँ बेन्चमार्क स्थापित गर्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले मार्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनविदहरुले साझा गर्ने विचार तथा अनुभवहरुले पर्यटन जस्तो उच्च सम्भावित क्षेत्रको थप प्रवद्र्धन विस्तार र विकासलाई सहयोग पुर्याउने बताउँदै मार्टमा सहभागी हुने सम्पूर्ण सरोकारवालाहरुलाई देशको दिगो तथा जिम्मेवारपूर्ण पयृटन विकासमा एकताबद्ध भई सहकार्य गर्न आह्वान गर्दै हिमालयन ट्राभल मार्ट २०२३ को भब्य सफलताका लागि शुभकामना व्यक्त गरिएको छ ।
पाटा नेपाल च्याप्टरले सेप्टेम्बर २०२२ देखि नै आगामि जेष्ठ २३ देखी २६ गते सम्म काठमाडौंमा चौथो हिमालयन ट्राभल मार्ट आयोजना गर्नका लागि आवश्यक पूर्वतयारी, अन्तराष्ट्रिय स्रोत बजारमा प्रचारप्रसार तथा ब्यवस्थापन कार्यहरु प्राथमिकताका साथ गरिरहेको र हालसम्म ३० देशका ५० भन्दा बढी क्रेताहरु र २० वटा बिक्रेताहरूले सहभागिताका लागि दर्ता गरिसकेको र नेपालका लागि प्रमुख एवं सम्भावित नयाँ अन्तर्राष्ट्रिय स्रोत बजारका कयौँ टुर, ट्रेक्किङ्ग ,पर्वतरोहण आदि अपरेटरहरुबाट मार्टमा सहभागिताका लागि दिनानुदिन चासो बढ्दै गैरहेको पाटा नेपाल च्याप्टरले बताएको छ ।
प्रकाशित मिति: २०२३-०३-३० , समय : १६:४६:१४ , २ वर्ष अगाडि