
इटहरी । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाले २४ सै घन्टा हेल्प डेक्स सञ्चालन गर्न निर्देशन दिएको छ ।
विद्युतीय भुत्तानीको प्रयोगलाई भरपर्दो बनाउने उद्देश्यले आउनसक्ने सेवाग्राहीको गुनासो सुनुवाइ गर्न सेवा प्रदायकले कम्तीमा १६ घण्टा (बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म) सेवा दिनुपने निर्देशन राष्ट्रबैंकबाट आएको हो ।

यस्तै कार्डसम्बन्धी समस्याको लागि तत्काल सहयोग गर्न २४ घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने र प्रत्येक संस्थाले गुनासो सुन्ने अधिकारीको नाम, पद, सम्पर्क नम्बर र इमेल ठेगाना संस्थाको वेबसाइटमा राख्नुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले स्मरण गराएको छ ।
यस अघि पनि केन्द्रिय बैंकले उक्त निर्देशन जारी गरेको थियो । प्रविधिको प्रयोगसँगै नगदरहित कारोबार सजिलो, विश्वासिलो र पारदर्शी हुँदै गएको राष्ट्र बैंकको धारणा छ । क्यूआर कोड, मोबाइल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विभिन्न प्रकारका कार्ड जस्ता विद्युतीय माध्यमको प्रयोग गरी नगदरहित कारोबारमा बानी बसाल्न सेवाग्राहरुलाई केन्द्रीय बैंकले यस्तो आग्रह गरेको हो ।
प्रकाशित मिति: २०२३-०४-०४ , समय : १९:४२:३८ , २ वर्ष अगाडि