
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मित्र फेर्न सक्ने तर छिमेकी फेर्न नसकिने बताएका छन ।
नेकपा एकीकृत समाजवादीको केन्द्रिय प्रचार विभागले आयोजना गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमका नेपाल स्थित प्रतिनिधिसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले परराष्ट्र नीतिको सम्बन्धमा अत्यन्त जिम्मेवार र संवेदनशिल हुनुपर्ने बताए ।

उनले नेपाल कुनैपनि सैन्य गठबन्धन वा सुरक्षा गठबन्धनको पक्षमा नभएर सैन्य मामिलामा असंलग्नताको नीति अवलम्बन गरेको बताए । उनले छिमेकी देशको संवेदनशीलतालाई समेत ध्यानमा राख्दै नेपालको स्वाभिमान र अस्तित्व माथि हस्तक्षेप नहोस् भन्ने कुरामा केन्द्रित हुनु जरुरी रहेको बताए ।
उनले नेपालको स्वाभिमानको मामिलामा आफूहरू सजग र सतर्क भएको भन्दै नेपालको कम्युनिष्ट आन्दोलन जोगाउन र बचाउन आफूहरूले पार्टीको पुनर्गठन गर्न बाध्य भएको बताए ।
मिटर व्याज पिडीतहरुको प्रसङ्ग निकाल्दै अध्यक्ष नेपालले सामन्तवादको अवशेषको रुपमा रहेका यस्ता खाले प्रवृत्तिको विरुद्धमा सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा समेत उल्लेख गरिएको र निती नै बनाएर त्यस्ता खाले समस्याको समाधान गर्नुपर्ने उल्लेख गरे ।
पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२३-०४-०७ , समय : २१:४६:५७ , २ वर्ष अगाडि