
सागर परियार
जुम्ला । कालिकोट नरहरीनाथ गाउँपालिका १ निवासी २२ वर्षीय टेक बहादुर विष्ट कोटबाडामा निर्माण भइरहेको सुनथराली विमानस्थलमा ज्यालादारी मजदुरका रुपमा काम गर्दथे । २०५८ फागुन ११ गते नेपाली सेनाले विमानस्थलमा कडा चट्टानी पहाड फोडिरहेका टेक बहादुर सहित ३६ जना कामदारको निर्मम हत्यागरी एउटै चिहान बनायो । चार दशकपछि निर्माण सम्पन्न सुनथराली विमानस्थलमै खाडल खनेर ३६ जनाको लास गाड्यो ।
कोटबाडा की ६५ वर्षीय मृगा विष्टले विमानस्थल निर्माणमा खटिएका आफ्ना छोरा (टेक बहादुर विष्ट) गुमाएको २१ वर्ष भयो । ‘नत राज्यबाट उचित राहत पायौँ । नत चिहान माथिको विमानस्थलमा जहाज आयो’। उनले भने,“मेरै आँखा अगाडी मेरो छोरा सहित ३६ जनाको निर्मम हत्या भयो । आफैले खाडल खनेर लासहरू पुरे । निर्माण सुरु भएको करिब ४० वर्षपछि विमानस्थल निर्माण सम्पन्न भयो । जहाज उड्ने अझै टुङ्गो छैन । तर चिहानमाथि चिलगाडी (हवाईजहाज) उड्ने आशा मरेको छैन ।” सरकारले चाडै जहाज उडाउनु पर्ने,मृतक सबैलाई सहिद घोषणा गर्नु पर्ने,सहिद स्मृति पार्क बनाउनु पर्ने र उचित राहत दिनुपर्ने मृगा विष्टले बताए ।

कोटबाडाकै राम बहादुर कठायतले विमानस्थलमा मजदुरी गरिरहेका आफ्ना बुबा लहविरे कठायतलाई गुमाएका छन् । सहारा विहीन राम बहादुर बुबाको चिहानमाथि चिलगाडी (जहाज) उडेको हेर्ने अन्तिम धोको रहेको बताउछन । उनी भन्छन्,“सेनाले बुबाको निर्मम हत्या र्गयो । बुबासँगै कोटबाडा गाउँका ८ जनासहित ३६ जना एउटै चिहान बन्यो । विमानस्थल निर्माणमा खटिएका मजदुर मारिएको २१ वर्ष पुग्यो । ‘चिहानमाथि चिलगाडी उड्ने र मृतकको आत्माले शान्ति पाउला भन्ने आशामा छौ ।”
तत्कालीन विद्रोही नेकपा माओवादी र राज्यपक्षबीच सशस्त्र द्वन्द्व चर्किएको थियो । अछामको मंगलसेन आक्रमणपछि माओवादीलाई खोजी रहेको सेना हेलिकप्टर लिएर कोटबाडा पुग्यो । निर्माणाधीन विमानस्थलमा टेक बहादुर सहितका ३६ कामदारहरू कडा चट्टानी भिर काटिरहेका थिए । सेनाले सोही विमानस्थलमा हेलिकप्टर अवतरण गर्ने प्रयास र्गयो । तीन पटकसम्म पनि हेलिकप्टर अवतरण गर्ने प्रयास कामदारहरूले असफल पारे ।
त्यही रिसमा कोटबाडामा ८ जना स्थानीय र धादिङका २६ जना गरी ३६ जना कामदारलाई सेनाले लाइन लगाएर मारेको नरहरीनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले बताए । उनले भने,“विमानस्थल निर्माण तत्कालीन जिविस सभापति दिप बहादुर शाहीले २०४२ सालमा १ लाख बजेटबाट सुरु गरेका थिए । सुरुमा तीन वटा उपभोक्ता समितिले भिर फाँड्ने काम गरे । १० वर्षे सशस्त्र द्वन्द्वले काम प्रभावित भयो । तर द्वन्द्व छल्दै उपभोक्ताले काम गरे । २०५८ फागुन ११ गते सेनाले हेली बस्न नदिएकै रिसमा धादिङ जोगी बाडाका २६ सहित कोटबाडाका ८ जनागरी ३६ जनालाई मारेको थियो ।”
२०६३ पछि माओवादी र राज्यपक्षबीच शान्ति सम्झौतापछि विमानस्थल निर्माणले गति लियो । पछिल्लो वर्षमा साढे १३ करोड बजेट विनियोजन भएर धावनमार्ग कालोपत्रे भएको छ भने हालसम्म झण्डै आधा अर्ब बढी बजेट खर्च भएको छ । निर्माण सुरु भएको करिब ४० वर्षपछि विमानस्थल सम्पन्न भएको उपाध्यक्ष शाहले जानकारी दिए ।
२०७३ सालमा तत्कालीन पर्यटन मन्त्री जीवन बहादुर शाहीले परिक्षण उडान गरेपनि हालसम्म फेरी जहाज आउन सकेको छैन । भौगोलिक हिसाबले विकट भएका कारण पनि जहाज आउने स्थिति छैन । विमानस्थल निर्माण सकियो । चिलगाडी (जहाज)उड्ने टुङ्गो छैन । चाडै जहाज उडेको भएपनि रगत र पसिनाको सम्मान हुने थियो । तर राज्यले कालिकोटवासीको पिडामा मलम लगाउन सकेको छैन ।
चिलगाडी कुर्दै कोटबाडाबासी
विमानस्थल निर्माण क्रममा मारिएका ३६ जनाले जनही १० लाख राहत सिवाय अहिलेसम्म कुनै सुविधा पाएका छैनन् । गाउँमा जहाज उड्ला केही सुबिस्ता होला भन्ने पवित्र लक्ष्यका साथ मजदुरी गरिरहेका कोटबाडाका टेक बहादुर विष्ट,लहविरे कठायत,भिम बहादुर कठायत,गोर्ख बहादुर कठायत,गंगा विष्ट,नविन विष्ट र लक्ष्मण भण्डारी सेनाबाट मारिएका हुन् ।
४० वर्षपछि विमानस्थल निर्माण सम्पन्न भयो । अझै जहाज उड्ने टुङ्गो छैन । तर कोटबाडाबासी सँगै समग्र कालिकोट सुनथराली विमानस्थलमा चिलगाडी (जहाज) उड्ने दिन कुरिरहेका छन् । आफन्तले बगाएको रगत र परिनाको राज्यले सम्मान गर्नुपर्ने,चाडै जहाज उडाउन पहल गर्नुपर्ने र राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने मृतकका आफन्तको जोडदार माग छ ।
मृतकका आफन्तहरू विमानस्थल सञ्चालनसँगै मृतकको सम्झनामा शालिक वा धर्मशाला निर्माण गर्नुपर्ने । विमानस्थलमा मजदुरको रूपमा काम गरिरहेकालाई सेनाले लाइन लगाएर मार्यो । नरहरीनाथ १ का वडाध्यक्ष जगत बहादुर विष्टले चिहानमाथि चिलगाडी उडे पनि सान्त्वना प्राप्त गर्ने एउटा माध्यम हुने बताए । उनले भने,“हाल विमानस्थलमा नियमित हवाई जहाज आइदिए हाम्रा लागि ठूलो सन्तुष्टि हुन्थ्यो । मृत्यु भएकाहरूको आत्माले पनि शान्ति पाउँथ्यो । त्यसैले कोटबाडाबासी जहाज कुरिरहेका छन् । आगामी वैशाख १ गते जहाज उडान गर्ने योजना छ ।”
भौगोलिक हिसाबले विकट कोटबाडा स्थित सुनथराली विमानस्थलमा सहज पहुँच नभएकोले तत्काल नियमित जहाज उडान गर्ने स्थिति छैन । सुनथराली विमानस्थलमा जहाज उडानको पहल गर्न नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको साधारण सभा चैत २१ र २२ गते आयोजना गरिएको थियो ।
सुनथराली विमानस्थलमा चाडै जहाज उडाउन दबाब दिनका लागि पनि पत्रकार महासङ्घ कर्णाली प्रदेको साधारण सभा कोटबाडामा गरेको महासङ्घका प्रदेश अध्यक्ष देवीराम देवकोटाले बताए । उनका १० वटै जिल्लाका पत्रकारले विमानस्थलका सम्भावनाको उजागर गर्न र राज्यलाई दबाब दिने विश्वास गरिएको छ ।
कार्यक्रममा कर्णालीका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधिसभा सांसद महेन्द्र बहादुर शाहीले साधारण उद्घाटनमा सुनराली विमानस्थलमा नियमिड उडानका लागि केबुलकार निर्माण गर्नुपर्ने बताए । उनले भने,“जहाज चड्नेगरी नागरिकको आयस्तर वृद्धिमा जोड दिन आवश्यक छ । नागरिकको आयबृद्धिसंगै पहुँच विस्तार जरुरी छ । जसका लागि केबुलकार एकमात्र विकल्प हो । डिपिआर भइसकेकोले बजेट जुटाएर कोटबाडा–मान्मा केबुलकार निर्माण गरिने छ ।”
नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले राज्यको करोडौँ लगानीमा ६ सय ४० मिटर लामो धावनमार्ग,टर्मिनल भवन,सुरक्षा गार्ड भवन प्रशासनिक भवन निर्माण भएको बताए । उनका अनुसार राज्यको बेवास्ताले विमानस्थल निर्माणमा खटिएका ३६ जनाको मृत्यु हुँदा गुमेको खुसी फर्किएको छैन ।
जनताले जहाज चढ्नका लागि केबुलकार निर्माण र जनताको आयस्तरबृद्धिमा जोड दिनुपर्ने उल्लेख गरे । ंहिउदे गाउँसाबाट मरेका ३६ जनाको सम्झनामा सहिद पार्क बनाउने निर्णय भएको उनको भनाई छ । नरहरीनाथ विकास अग्र पङ्क्तिमा भएपनि विमानस्थल फलामको चिउरा चपाउनु जस्तै भएको उल्लेख गरे ।
।२०७३ माघ २९ गते सरकारले ३५ जनाको एउटै चिहान भएको विमानस्थलमा परीक्षण उडान गरेको थियो । चिहानमाथि चिलगाडी अवतरण गर्दा खुसी भएका स्थानीयको खुसी क्षणमै हरायो । तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीले परिक्षण उडान गरेका थिए । त्यसपछि अहिले सम्म जहाज आएको छैन ।
सुनथराली विमानस्थलमा नियमित जहाज उडान भएको खण्डमा नहरीनाथका उत्पादनको बजारीकरण सँगै पर्यटन प्रवद्र्धन,रोजगारी सृजना हुने आशामा कालिकोटबासी छन् ।रासस
प्रकाशित मिति: २०२३-०४-०९ , समय : ११:४०:२३ , २ वर्ष अगाडि