
रासस
काठमाडौँ । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सेवा निवृत्त कर्मचारीले पाइरहेको उपदान, सञ्चित बिदा र औषद्योपचारको भुक्तानी किन रोकेको भन्दै सरकारसँग प्रश्न गरेका छन ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थामा नरहेको हो ? भन्दै प्रश्न गरेका हुन । “सरकारले कर्मचारीको सञ्चित बिदा र औषधि उपचारको रु ३२ अर्ब रोकेको हो कि होइन ? प्रधानमन्त्रीले आफूले जिम्मेवारी सम्हालेको सय दिनमा अर्थतन्त्रमा निकै सुधार भएको र नेपालमा आर्थिक सङ्कट छैन भनिरहनुभएको छ तर केही महिना पछाडि कर्मचारीको तलब खुवाउन नसक्ने अवस्था हुँदैछ”, सुवालले भने ।

महालेखा नियन्त्रक कार्यालयले चैत २१ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै कर्मचारीको उपदान, सञ्चित बिदा र औषधि उपचार रकम चालु आर्थिक वर्ष २०७९र८० को बजेट कार्यान्वयन मार्गदर्शनअनुसार निकासा गर्न भनेको थियो ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनले ‘सञ्चित बिदा, औषधि उपचार र उपादानको रकम भुक्तानीको लागि सम्बन्धित कार्यालयबाट माग भएको खर्च हुने रकम यकिन गरी तलब खर्च हुने बजेट उपशीर्षकको सम्बन्धित खर्च शीर्षकमा कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रणालीबाट रकमान्तर गरिदिने’ भनेको थियो । यस्तो रकम २०७९ माघ मसान्तसम्म निकासा भुक्तानी दिने र फागुन देखिको निकासा दिँदा महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त निर्देशानुसार गर्नु भनिएको थियो । बजेट कार्यान्वयन मार्गदर्शनको सोही व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेको हो ।
त्यस्तै, पछिल्लो समय बिग्रँदो अवस्थामा रहेको मुलुकको आर्थिक अवस्था र आर्थिक अनियमितताका विषयमाथि पनि सांसद सुवालले संसद्मा प्रश्न उठाएका छन । “रेमिट्यान्स धेरै भित्रिनुको अर्थ बगैँचाजस्तो नेपाललाई मरुभूमि बनाउनु हो । किसानलाई रासायनिक मल दिनेतर्फ सरकारको ध्यान छैन”, उनले भने, “पर्यटनमन्त्रीले शिवरात्रीको मेलामा घोटाला भएको स्वीकार गर्नुभएको छ । अख्तियार के गर्दैछ ?”
प्रकाशित मिति: २०२३-०४-१३ , समय : ०७:४५:०८ , २ वर्ष अगाडि