
झापा । कचनकवल गाउँपालिका– ७ बालुवारीस्थित साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक युवराज खत्री १ करोड ४६ लाख रकम हिनामिना गरी फरार भएका छन् ।
कचनकवल ७ स्थायी ठेगाना भएका खत्री गत चैत ११ गतेदेखि रकम हिनामिना गरी फरार भएका हुन् ।

सहायक प्रबन्धक निरुमाया राजवंशीसँग मिलेर दुवैले त्यति रकम हिनामिना गरेको संस्थाकी अध्यक्ष लक्ष्मी सुब्बाले बताइन् ।
प्रबन्धक खत्री र सहायक प्रबन्धक राजवंशीले १ करोड ४६ लाख रकम हिनामिना गरेको कुरा स्वीकार गर्दै मन्जुरीनामा गरेको अध्यक्ष सुब्बाले बताइन् । सहायक प्रबन्धक राजवंशीलाई संस्थाले निलम्बन गरिसकेको छ ।
उनलाई निगरानीमा राखिएको छ । संस्थाको हरहिसाब हेर्ने काम भइरहेको अध्यक्ष सुब्बाले जानकारी दिइन् । सो संस्थामा ६६४ जना शेयर सदस्य रहेका छन् ।
प्रकाशित मिति: २०२३-०४-१५ , समय : ०७:४९:५५ , २ वर्ष अगाडि