इलाम माई नगरपालिको फनपार्क हटाउन अख्तियारको पत्र

इलाम । इलामको माई नगरपालिका –२ भन्ने स्थानमा व्यक्तिले निर्माण गरेको फनपार्क हटाइने भएको छ । फनपार्कले वन र खोलाको सार्वजनिक जग्गा मिचेको ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खाली गराउन जिल्लाका निकायलाई पत्राचार गरेको छ ।

अख्तियारको इटहरीस्थित कार्यालयले जिल्ला प्रशासन कार्यालय, वन डिभिजन र माई नगरपालिकालाई पत्राचार गरी पार्कले ओगटेको सार्वजनिक जग्गा खाली गराइ त्यसको सुरक्षा, संरक्षण र सम्वर्धन गराउन भनेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।

‘सार्वजनिक जग्गा खाली गराउनेबारे बिहीबार सदरमुकाममा सर्वदलीय बैठक बसेको थियो’ उनले भने, ‘बैठकले अख्तियारको निर्णय कार्यान्वयन गराउने निर्णय गरेको छ ।’ त्यसपछि प्रशासन, वन, मालपोत र नापी कार्यालयको बैठक बसेर ३५ दिनभित्र पार्कले ओगटेको सार्वजनिक जग्गा खाली गर्न सार्वजनिक सूचना गर्ने निर्णय भएको उनले जानकारी दिए ।

हेप्पी ड्रिम्स चेप्टी प्रालिले करोडौं रुपियाँको लगानीमा बनाएको फनपार्कले २ सय १८ रोपनी जग्गा ओगटेको छ । यसमध्ये १ सय ३२ रोपनी पर्ती र माइखोलाको जनिएको तथा ४५ रोपनी सामुदायिक वनको रहेको अख्तियारले जनाएको छ । बाँकी ४१ रोपनी मात्र प्रालिको स्वामित्वमा देखिएको छ । ‘अख्तियारले पर्ती र माइखोलाको तथा वनको जमिन खाली गराइ वनक्षेत्र कायम गर्ने निर्णय कार्यान्वयन गराउन भनेको छ’ प्रजिअ पोख्रेलले भने, ‘अब ३५ दिने सूचना निस्किन्छ, त्यसपछि पनि जमिन खाली नभए अर्को निर्णय हुन्छ ।’

गत साउन १० गते अख्तियारले फनपार्कले ओगटेको सार्वजनिक जग्गा खाली गराउने निर्णय गरेको थियो । साउन २० मै पत्र आए पनि दुई पटक बसेका जिल्लास्थित निकायको बैठक निष्कर्षमा पुग्न नसकेपछि बिहीबार लामो समयपछि पुनः बैठक बसेको हो । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: २०२३-०४-२१ , समय : ०८:३३:५८ , ३ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित