
काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ६ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मङ्गलबार बाठमाडौंबाट उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले मालपोत कार्यालय, डिल्ली बजारका पूर्व खरिदा गोपाल कार्कीसहित ६ जनालाई पक्राउ गरिसकेको जानकारी दिए ।

प्रवक्ता कडायतका अनुसार पक्राउ पर्नेमा भाटमटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की छन् ।
सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।
ललिता निवास प्रकरणमा यसअघि तीनसय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । त्यसपछि अनुसन्धान जारी रहेको बताए पनि थप प्रगति भएको थिएन । पछिल्लो चरणमा भने सिआइवीले अनुसन्धान तीव्र पारेको थियो ।
उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । हाल उक्त मुद्दा विचाराधीन छ ।
सिआइवीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले ललिता निवासको जग्गामा सरकारी लिखत कीर्ते भएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो ।
प्रकाशित मिति: २०२३-०६-२७ , समय : १६:००:१७ , २ वर्ष अगाडि