
काठमाडौं । ओखलढुङ्गामा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ भँडारे खोलामा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका–३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङ रहेको प्रहरीले जनाएको छ ।

खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ६४२१ नम्बरको टाटा सुमो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सुमो सडकबाट करिब सय मिटर तल खसेको थियो ।
सुमोमा चालकसहित चार जना सवार थिए । सुमो चालक सुनसरीको इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार छन् ।
प्रकाशित मिति: २०२५-०१-३० , समय : १४:५९:३७ , ४ महिना अगाडि